प्रेम अधिकारी
पशुपतिनगर, वैशाख २१ गते । इलामको सूर्योदय नगरपालिका–१२ मा रहेको करफोक विद्यामन्दिर माध्यमिक विद्यालयको झापाका तीन वटा पालिकामा रहेको ३१ बिघाभन्दा बढी जमिन बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको छ । विद्यालयका नाममा जग्गाधनी पुर्जा कायम झापाको कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा रहेको ३१ बिघा, १६ कट्ठा, १५ धुर जग्गा बर्सौंदेखि बिचौलिया र स्थानीयको कब्जामा परेको पाइएको हो ।
झापाको कनकाई नगरपालिका–२, ३, ४ र ५ मा विद्यालयको १७ बिघा आठ कट्ठा पाँच धुर, अर्जुनधारा नगरपालिका–९ मा १० बिघा १० कट्ठा र शिवसताक्षी नगरपालिका–२ मा तीन बिघा १८ कट्ठा जमिन रहेको छ । उक्त जमिनको यसअघि नै प्रव्रिmया पूरा गरी मोहियानी हक लाग्ने जति जमिन कटाएर कुतको रकम लिने व्यवस्था अनुसार अब्बल, दोयम र सिम चाहार वर्गीकरण गरी स्थानीयले कमाउँदै आएका छन् ।
पछिल्लो समय भाडामा लिएको विद्यालयको जमिन भित्रभित्रै बिचौलियाले घरायसी रूपमा बिक्री गर्ने र पक्की घर निर्माण गर्ने क्रम बढेसँगै विद्यालयको जमिन बिचौलिया र स्थानीयको कब्जामा परेको विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद आचार्यले जानकारी दिनुभयो । प्रअ आचार्यका अनुसार कनकाई नगरपालिकाभित्र रहेको विद्यालयको जमिन बिचौलियाले घरासयी रूपमा बिक्री गर्ने र पक्की संरचना (घर) बनाउने व्रmम बढेको छ ।
विद्यालयको उक्त जमिन ३५ जना व्यक्तिलाई वार्षिक ठेक्का बुझाउने सर्तमा खेती गर्न दिएको भए पनि बिचौलिया र स्थानीयले जमिनमा पक्की संरचना निर्माण गरेको पाइएको छ । भूमिसुधार ऐन, २०२१ बमोजिम २०३० असोज २९ गते राजपत्रमा सूचना प्रकाशित गरी जग्गाको प्रतिबिघा अब्बलको १५ मन, दोयमको ११.५ र सिम चाहारको ८.५ मन धान बुझाउने सर्त लागु गरिएको थियो । विद्यालयले प्रतिमन धानको एक हजार दुई सयका दरले हिसाब गरी नगद लिने गरेको प्रअ आचार्यले जानकारी दिनुभयो ।
कनकाई नगरपालिकाभित्र रहेको विद्यालयको जमिनमा १४ वटा पक्की र अन्य कच्ची घर बनेका छन् । यस्तै अर्जुनधारा नगरपालिकामा रहेको जमिनमा छ वटा पक्की र अन्य कच्ची संरचना बनेका छन् । शिवसताक्षी नगरपालिकाभित्र भने पक्की संरचना बन्न पाएका छैनन् । कनकाई नगरपालिकामा रहेको विद्यालयको जमिनमा केही व्यक्तिले फनपार्कसमेत निर्माण गर्दै आएको पाइएको नगरको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख तथा सूचना अधिकारी योगनिधि भट्टराईले जानकारी दिनुभयो । कनकाई नगरपालिकामा रहेको जमिन खेती गरी कमाउन लिएका अर्जुन सङ्ग्रौलाले घरायसी रूपमा विभिन्न व्यक्तिलाई जमिन टुक्य्राएर बेचबिखन गरेको पाइएको छ । सङ्ग्रौलाले प्रतिकट्ठा सात लाख रुपियाँभन्दा बढी रकम लिएर जग्गा बिक्री गरेको विद्यालय र सूर्योदय नगरपालिकाले स्थलगत अध्ययन गर्दा खुलेको छ ।
विद्यालयको उक्त जग्गामा खिलानाथ गुरागाईं, लखन सोरेन, शान्ति टुडु, मझाल टुडुु, अर्जुन सोरेन र छमी सोरेनले २०३८/२०४० सालदेखि नै कच्ची घर बनाएर बसोबास गरिरहेको र डिल्लीबहादुर कटुवालले २०६७ यता दुई वटा पक्की घर, हिरालाल श्रेष्ठले तीन वटा पक्की घर र भक्तबहादुर श्रेष्ठले पाँच वटा पक्की घर बनाएर बसोबास पाइएको छ ।
विद्यालयले कनकाई नगरपालिकालाई पछिल्लो समय २०८२ साल चैत २ गते पत्राचार गरी विद्यालयको जमिनमा बन्दै गरेका पक्की संरचनाको काम रोक्न सहयोगको आग्रह गरेको थियो । नगरपालिकाको १७ औँ कार्यपालिका बैठकले निर्णय गरी विद्यालयको जमिनमा पक्की संरचना बनाउने काम रोक्न २०८३ साल वैशाख ८ गते सार्वजनिक सूचना जारी गर्दै कानुनविपरीत संरचना बनाए कारबाही गरिने जनाएको छ ।
तीन वटै पालिकाभित्र रहेका विद्यालयको जमिनमा विद्यालयको अनुमतिबिना पक्की सडकलगायतका संरचना बनाउने कामसमेत भएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विद्यालयको जमिन चरम अतिक्रमणमा परेको बताउनुभयो । उहाँले विद्यालयले लिखित पत्राचार गरेपछि नगरले अध्ययन गरी संरचना बनाउने काम रोक्न भनिएको जानकारी दिनुभयो । नगरप्रमुख पोखरेलले भन्नुभयो, “एउटाले कमाउन भनेर लिएको छ, उसले १० औँ जनालाई जमिन बेचेको छ, थोरै सुकुमवासी होलान्, अन्य सबै विद्यालयको जमिन हड्प्ने जमिनदार नै रहेको बुझिएको छ ।” उहाँले नगरपालिकाले विद्यालयको जमिन खाली गराउने काममा सहयोग गर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले विद्यालयको जमिनमा भएको अतिव्रmमण हटाई जमिन खाली गराउनका लागि सहयोग गर्न झापाका तीन पालिका, जिल्ला प्रशासन कार्यालय झापा र जिल्ला प्रशासन कार्यालय इलामलाई पत्राचार गर्ने तयारी भएको जानकारी दिनुभयो ।
इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विद्यालयलाई जमिनका कागजात तथा सबै विवरण माग गरेको र विवरण प्राप्त भएपछि जमिन खाली गराउन जिल्ला प्रशासन कार्यालय झापा र सम्बन्धित पालिकालाई पत्राचार गरिने जानकारी दिनुभयो । प्रजिअ ढकालले इलाम नगरपालिका–७ मा रहेको आदर्श माध्यमिक विद्यालयको झापाको अर्जुनधारा नगरपालिकामा रहेको १४ बिघा जमिनसमेत अतिक्रमणमा परेकाले सँगै खाली गर्न पहल सुरु गरिएको जानकारी दिनुभयो ।
यी तीन पालिकामा रहेका जमिनको बर्सेनि विद्यालयले मालपोत (भूमि) कर तिर्दै आएको छ । लिजमा दिएको जमिनबाट विद्यालयले बर्सेनि तीन लाख हाराहारी आम्दानी गर्दै आएको छ । कनकाई नगरपालिकामा देवीप्रसाद उप्रेतीले, अर्जुनधारा र शिवसताक्षी नगरपालिकामा धर्मप्रसाद ढकालले विद्यालयलाई तत्कालीन समयमा निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो ।