• २१ वैशाख २०८३, सोमबार

शिक्षकको हातमा चक डस्टरसँगै बारीको काँक्रो

blog

बाजुरा समाचारदाता

बाजुरा, वैशाख २१ गते । जिल्लाको बडीमालिका–४, ओलेनाका कमल नाथ पेसाले एक अस्थायी शिक्षक हुनुहुन्छ । उहाँ अहिले गाउँनजिकैको पाथरकोट आधारभूत विद्यालयम रिलामा कार्यरत हुनुहुन्छ । विगत केही वर्षयता उहाँ बालबालिकाको भविष्यका लागि निरन्तर शैक्षिक पेसामा लागिरहनुभएको छ ।  उहाँले बिहान ९ देखि बेलुकी ५ बजेसम्म त्यसै विद्यालयको कालोपाटीमा चक, डस्टर घोटेर बालबालिकालाई पढाउनुहुन्छ । भने अन्य शनिबार र बिदाका दिनमा घरमा रहेको बाँझो जमिनको समेत सदुपयोग गर्दै आउनुभएको छ । 

साँफे–मार्तडी सडकखण्डमुनि आलेनामा उहाँको बसोबास छ । २०७६ सालमा बुढीगङ्गा नदीमा आएको बाढीले उहाँको त्यो बसोबास जोखिममा पारेको छ । नदीले खेती गर्ने सबै जमिन बगर बनाए पनि अहिले उहाँले केही बाँकी रहेको जमिनमा तरकारी खेती गर्नुभएको छ । 

शिक्षक नाथको  बिहान ९ देखि बेलुकी ५ बजेसम्म हातमा चक, डस्टर हुन्छ भने शनिबार र बिदाका दिनमा काँक्रो हुने गरेको छ । 

अस्थायी तथा पालिकाको सहयोगबाट विद्यालयमा अध्यपान गर्दै आउनुभएका नाथको पारिश्रमिकले परिवार तथा छोराछोरीको पढाइ खर्चमा पुग्दैन । विद्यालयको अस्थायी जागिरले उहाँलाई घर धान्न मुस्किल भएपछि अहिले त्यसको साथै फुर्सदको समय उहाँले घरमा तरकारी खेतीलाई समेत जोड्नुभएको हो ।

अहिले उहाँले आफ्नो बाँझो रहेको जमिनमा काँक्रा, फर्सी, आलु, प्याज, लसुन, धनियाँ, मुला, रायोलगायतका तरकारी उत्पादन गर्नुभएको छ । यसरी उत्पादन गरेको तरकारीलाई अहिले नाथलाई बिक्री गर्न भ्याइ नभ्याइ भएको छ । उहाँले भन्नभुयो, “मैले अहिले आफ्नो जिम्मेवारी शिक्षक पेसालाई कुनै कतै असर नपर्ने गरी फुर्सदको बेलामा मात्र तरकारी खेती गर्ने गरेको छु । त्यो तरकारी खेतीले अहिले मलाई निकै राहत मिलेको छ ।”

सरकारले कृषि काम गर्नेलाई राहत दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । नाथ केही वर्ष पहिला सेतो गुराँस संस्थामा पनि काम गर्नुहुन्थ्यो । उहाँले त्यो संस्थामा काम गर्दा पनि गाउँमा रहेका अधिकांश बालबालिकाको पढाइमा निकै सहयोग गर्दै आउनुभएको थियो । दुर्गम क्षेत्रका अधिकांश विद्यालयमा पढ्दै गरेका बालबालिकाको गुणस्तर शिक्षाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्नुभएको थियो । 

शिक्षाका क्षेत्रमा राम्रो काम गर्दै आउनुभएका नाथलाई केही वर्ष यता बडीमालिका नगरपालिकाले सो विद्यालयमा शिक्षकको नियुक्ति दिएको थियो ।  हप्ताको चार/पाँच दिन बालबालिकाको शैक्षिक अवस्था वृद्धिविकास गर्न तथा अन्य दिनमा अर्गानिक खेतीलाई प्रोत्साहन दिने गरेका नाथले आफूले प्राप्त गरेको ज्ञान यहाँका अन्य किसानलाई समेत हस्तान्तरण गर्दै आउनुभएको छ ।