• १८ पुस २०८२, शुक्रबार

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

blog

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), पुस १७ गते । बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । राजापुर नगरपालिका १० कर्मोहनी बस्ने ४० वर्षीया बालिका पुरीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । 

भारतको सिमा दशगजा क्षेत्रनजिक भारतको जंगली हात्तीले आक्रमण गर्दा पुरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार भारतको जंगलमा भैंसी चराउन गएका समयमा जंगली हात्तीले लखेटेपछि बालिकासहित तीन जना जंगलबाट भागेका थिए । साथीहरू घर आइपुगे पनि बालिका राति अबेरसम्म घर नआएपछि खोजतलास सुरु गरिएको थियो । 

मृतक बालिकाको शव हात्तीले कुल्चिएर क्षतविक्षत बनाएको अवस्थामा नेपाल–भारत सिमा क्षेत्र दशगजा नजिक नेपालतर्फ बिहीबार (आज) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक देवेन्द्रकुमार मल्लले बताउनुभयो । उहाँले मृतकको शव बर्दिया अस्पतालमा पोष्टमार्टम पश्चात् मृतकका आफन्तलाई जिम्मा लगाइएको बताउनुभयो । 

भारतको सिमावर्ती क्षेत्रमा भैंसी चराउन गएको समयमा हात्तीले छोपेर लगेको मृतकका श्रीमान तेजबहादुर पुरीले बताउनुभयो । सँधैझै दशगजा क्षेत्रमा भैंसी चराउन गएको समयमा हात्तीले आक्रमण गरेको उहाँले बताउनुभयो ।