काठमाडौँ, पुस १६ गते । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।
एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढेर आएको छ। सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपियाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।
नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपियाँ र तेस्रो वर्गमा १५९ रुपियाँ कायम गरिएको छ । यस्तै, डिजेल, मट्टितेलको मूल्य क्रमशः १३४ रुपियाँ ५० पैसा, १३६ रुपियाँ र १३७ रुपियाँ प्रतिलिटर तोकिएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज पर्दछ । दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायल समेटिएका छन् ।