धर्बेन्द्र झा
जनकपुरधाम, पुस १७ गते । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो दिन बिहीबार जनकपुरधामको जानकी मन्दिरमा पुजाअर्चना गर्ने नेपाली र भारतीय पर्यटकको भिड लागेको छ ।
नयाँ वर्ष २०२६ मनाउन जनकपुरधाम आएका पर्यटकहरुले मौसममा सुधार भएर घाम लागेपछि आज बिहानैदेखि जनकपुरधामको प्रसिद्ध गंगाासागर पोखरीमा स्नान गरी जानकी मन्दिर, राजदेवी मन्दिर, राम मन्दिर, शिव मन्दिर, संकटमोचन मन्दिरसहितका मन्दिरमा पूजा अर्चना गरी मंगल कामनाका साथ नयाँ वर्षको स्वागत गरेका छन् ।
जनकपुरधामको जानकी मन्दिरमा नेपाल भारतको विभिन्न स्थानबाट हजारौंको संख्यामा आएका श्रद्धालु भक्तजनले आज विभिन्न कामनाका साथ जानकी माताको पूजापाठ गरी दर्शन गरेको पुजारी रिसिकेस दासले बताउनुभयो ।
भारतको विहार राज्यको दुलिपटी बाट जनकपुरधाम आएका मनोज झाले अंग्रेजी नयाँ वर्ष २०२६ मनाउनका लागि सम्पूर्ण परिवार जनकपुरधाम आएको र आज पहिलो दिन माता जानकीको दर्शन गरेपछि धन्यभएको बताउनुभयो । जानकी माताको दर्शनगरेपछि वर्षभरी राम्रो रहने भन्दै उहाँले विगतका वर्षहरुमा पनि नयाँ वर्षको पहिलो दिन जनकपुरधाम आउने गरेको बताउनुभयो ।
अंग्रेजी नयाँ वर्ष २०२६ मनाउन जनकपुरधाम आएका नेपाली र भारतीय पर्यटकको कारण जनकपुरधामको बजारमा बिक्री वितरणमा बढोतरी हुनुको साथै जनकपुरधामको होटल भरीभराउ रहेको जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बताउनुभयो ।
जनकपुरधाममा नेपाल र भारतीय पर्यटकको आजको दिन हुने विशेष आगमनले जनकपुरधामका व्यवसायी समेत उत्साहित रहनेगरेको र बजारमा पनि व्यापक मात्रामा किनमेल हुनेगरेको उहाँले बताउनुभयो । स्थानीय प्रशासनले जनकपुरधाम क्षेत्रमा आजको दिन हुने पर्यटकको भिडका कारण जनकपुरधामको सुरक्षा व्यवस्था कडा परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।