• १६ चैत २०८०, शुक्रबार

नागरिकलाई कर्तव्य सिकाउँदै प्रशासन

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, जेठ २६ गते । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले नागरिकताको महत्व, नागरिकको कर्तव्य र दायित्वबारे नागरिकलाई सुसूचित गराउन थालेको छ। प्रशासन कार्यालयले ‘नागरिक सचेतना अभियान’ सञ्चालन गरेर नयाँ नागरिकता र प्रतिलिपि प्राप्त गर्ने सेवाग्राहीलाई उक्त जानकारी दिन थालेको हो। 

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले सचेत नागरिक बन्न प्रेरित गर्नका लागि नागरिकता वितरणसँगै नागरिकताको महत्व, सचेत नागरिकको कर्तव्य र दायित्वबारे जानकारी दिन थालिएको बताउनुभयो। नागरिकता बनाउन आएका सेवाग्राहीलाई लक्ष्य गरी यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। 

यो अभियानमा राष्ट्रप्रति निष्ठावान् भएर मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्न नागरिकको मूलभूत कर्तव्य भएको जानकारी गराइएको छ। संविधानको पालना गर्न, राज्यले चाहेको बखतमा सेवा गर्न, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्न नागरिकको कर्तव्य भएको कुरा उक्त अभियानमा सिकाइएको छ। 

प्रचलित कानुनबमोजिमका नागरिकका कर्तव्य तथा अधिकारका बारेमा समेत जानकारी गराउने गरिएको छ। यस कार्यक्रमले नागरिकले राष्ट्रप्रति खेल्नुपर्ने भूमिकाका बारेमा सहज बनाउने काम गरेको बताइएको छ।

प्रजिअ पन्तका अनुसार नेपालको संविधानको धारा ४८ बमोजिम नागरिकका कर्तव्यहरू जानकारी दिने गरिएको छ। सेवाग्राहीलाई उक्त धारामा उल्लिखित व्यवस्थाहरूको एक प्रतिसमेत उपलब्ध गराउने गरिएको छ। 

नागरिकता प्राप्त गरेका सानीभेरी गाउँपालिका–११ का मीनराज बुढाथोकीले नागरिकता पाएसँगै प्रशासन कार्यालयले यसको महत्व बुझाएको बताउनुभयो। यस कार्यले आपूmलाई थप जिम्मेवार बन्न प्रेरित गरेको उहाँले बताउनुभयो। 

कानुनको पालना, एउटा सक्षम र जिम्मेवार नागरिक बन्न नागरिक सचेतना अभियानले महत्वपूर्ण जानकारी दिएको उहाँको भनाइ छ। 

साताको हरेक बुधबारको दिन उक्त कार्यक्रम सुरु गरिए पनि हरेक दिन गर्नुपर्ने माग आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासन कार्यालयबाट दैनिक ४० भन्दा बढी नयाँ र प्रतिलिपिसहितका नागरिकता वितरण हुने गरेका छन्।