• ८ वैशाख २०८१, शनिबार

जग्गा नापजाँच सुरु भएपछि भूमिहीन उत्साहित

blog

अमरराज नहर्की

तनहुँ, जेठ २६ गते । राष्ट्रिय भूमि आयोगले भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु गरेको छ । भानु नगरपालिका–१ को नयाँ बस्तीबाट बिहीबार नापीको काम सुरु गरिएको हो। 

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउन राष्ट्रिय भूमि आयोग जिल्ला समितिसँगको सहकार्यमा नापीको काम सुरु भएको उपप्रमुख उमा गोतामेले जानकारी दिनुभयो। 

राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले भानु नगरपालिकाबाट जग्गा नापजाँच शुभारम्भ गर्नुभयो। सो अवसरमा अध्यक्ष अधिकारीले आगामी दसैँसम्ममा जग्गाधनी पुर्जा प्रदान गर्ने गरी काम अगाडि बढाइएको बताउनुभयो। अधिकारीले भन्नुभयो, “कुनै बाधा अवरोध नभए आगामी दसैँसम्ममा जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने योजना हाम्रो छ ।”  

नापजाँच सुरु भएपछि भूमिहीन, अव्यस्थित बसोबासी उत्साहित भएको वडा नं. १ का वडाध्यक्ष कान्छीमाया तामाङले जानकारी दिनुभयो। वडाध्यक्ष तामाङले भन्नुभयो, “जग्गा नापजाँच सुरु भएपछि भूमिहीन सुकुमवासी, दलित र अव्यवस्थित बसोबासीमा जग्गाधनी बन्ने आशा पलाएको छ।” 

नागरिकलाई जग्गाधनी बनाउन यसअघि पनि थुप्रै आयोग गठन भई काम सुरु गरेका थिए तर उलपब्धि भने शून्य नै रहे पनि यसपालि आशा जागेको भूमिहीन, अव्यस्थित बसोबासी सङ्घर्ष समिति भानुका संयोजक कालबहादुर लामाले बताउनुभयो। 

जग्गाको पुर्जा नहुँदा चाहेको पेसा व्यवसाय गर्न नपाएका स्थानीय यस प्रव्रिmया छिटो टुङ्गिए हुन्थ्यो भन्ने आशामा छन्। जमिन भएर पनि व्यवस्थित व्यवसाय गर्न नपाएको वडा नं. १ को नयाँ बस्तीकी राममाया गन्धर्वले बताउनुभयो। 

गन्धर्वले भन्नुभयो, “हरेक वर्ष चुनावको समयमा लालपुर्जा दिन्छु भन्ने धेरै आए, हामीलाई खालि आस मात्र दिएका छन्। यसपालि जग्गा नापजाँच सुरु भएकाले पुर्जा पाउनेमा आशा बढेको छ।” 

सबैभन्दा बढी भूमिहीन भएको वडा नं. १ को नयाँ बस्ती क्षेत्रबाट सुरु भएर प्रत्येक वडामा नापनक्सा गर्न बढीमा दुई महिना लाग्ने र एक महिना नक्सा तयारी गर्न समय लाग्ने नापी कार्यालयका फोकल पर्सन राजीव श्रेष्ठले जानकारी दिनुभयो। जग्गा नापजाँच लागि राष्ट्रिय भूमि आयोग, नापी कार्यालय तनहुँ र सम्बन्धित पालिकाका प्राविधिक टोलीले एकसाथ खटिएका छन् । 

आयोगका जिल्ला सदस्य श्रीराम कार्कीले भानु नगरपालिकामा भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासी गरी तीन हजार ३१७ परिवारले लालपुर्जाका लागि निवेदन दिएको जानकारी दिनुभयो। कार्कीका अनुसार आँबुखैरेनी गाउँपालिकाको छ वटै वडामा जग्गाको नापजाँचको काम पूरा भएको छ। 

यसै गरी शुक्लागण्डकी नगरपालिका–५, ७ र ३, देवघाट गाउँपालिका–४ र ५ मा जग्गा नापजाँचको काम भइरहेको छ। जनशक्तिको अभावले गर्दा सबै स्थानीय तहमा नापजाँच गर्न कठिन भएको कार्कीले जानकारी दिनुभयो। 

सुकुमवासीको हकमा देशको जुनसुकै कुनामा बुवा, छोरा र नाति गरी तीन पुस्ताभित्र जग्गाजमिन नभएकालाई भूमिहीन सुकुमवासी भनी आयोगले परिभाषित गरेको छ। अव्यवस्थितको हकमा तीनपुस्ते विवरण भर्दा परिवारका अन्य सदस्यको नाममा रहेको चल÷अचल सम्पतिको विवरण खुलाउनुपर्ने कानुनी व्यवस्था छ।