• ८ वैशाख २०८१, शनिबार

गाउँपालिकाको नयाँ भवन तयार

blog

राधाकृष्ण डुम्रे

वालिङ, जेठ २६ गते  । स्याङ्जाको कालीगण्डकी गाउँपालिका र आँधीखोला गाउँपालिकाले आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएका छन्। कालीगण्डकी गाउँपालिका–४ को बिर्घामा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्न लागिएको हो। नयाँ भवन सात करोड ३५ लाख ९४ हजार रुपियाँको लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो। 

कालीगण्डकी गाउँपालिकाले यसअघि स्वास्थ्य कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको थियो। अध्यक्ष थापाले भन्नुभयो, “अब सहज रूपमा नागरिकलाई सेवा प्रवाह गर्न सक्ने छौँ।” स्थानीय १६ जनाले २६ रोपनी एक आना जग्गा उपलब्ध गराएको र सोही जग्गामा सुविधासम्पन्न भवन निर्माण गरिएको थापाले बताउनुभयो। 

सेवाग्राहीलाई समस्या नहोस् भनेर सोही अनुसार नै शाखाहरूको व्यवस्थापन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयले जानकारी दिनुभयो। 

यस्तै आँधीखोला गाउँपालिकाले पनि नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ। वडा नं. ५ मा निर्माण गरिएको सुविधासम्पन्न भवनबाट सेवा प्रवाह गर्न लागेको गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिनुभयो। प्रशासकीय भवन पाँच करोड ६४ लाख रुपियाँको लागतमा निर्माण भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो। 

स्थापना कालदेखि नै सेवा प्रवाह गर्दै आएको अस्थायी कार्यालय साँघुरो भएपछि केही महिनाअघि कार्यालयबाट सेवा दिन सुरु गरेको उहाँले 

जानकारी दिनुभयो। 

स्थानीय ११ जना जग्गादाताले उपलब्ध गराएको २७ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो। नयाँ भवनबाट सेवा प्रवाह सहज हुने र सेवाग्राहीलाई पनि सेवा लिन सहज हुने उहाँले बताउनुभयो।

यसैबिच आँधीखोला र कालीगण्डकी दुवै गाउँपालिकाको औपचारिक उद्घाटन शुव्रmबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यव्रmम रहेको जनाइएको छ।