• १५ चैत २०८०, बिहिबार

लोकदोहोरीकी ‘स्टेज क्विन’

blog

काठमाडौँ, जेठ २६ गते । दाङको देउखुरीमा जन्मिनुभएकी भूमिका गिरीको नाम लोक तथा दोहोरीमा चर्चित छ । बाल्यकालदेखि नै उहाँलाई लोकभाकामा धेरै नै रुचि थियो । कक्षा ५ मा पढ्दा स्कुलमा गायन प्रतियोगितामा भाग लिएको उहाँलाई अझै पनि याद छ । तीजको मेलामा अन्य पूजामा हिँड्दा आफ्नी आमाको मिठो स्वरमा स्वर मिलाउँदामिलाउँदै उहाँले यसैलाई पेसा बनाउन उहाँँको भनाइ छ । गायनका साथै उहाँ नाच्न पनि उत्तिकै सिपालु हुँदै जानुभयो । 

पछिल्लो समय उहाँ लोकदोहोरी गायिकामध्ये ‘स्टेज क्विन’ को नामले चिनिनुहुन्छ । चोली मैलै भो’, ‘तारासँगै जुन, बिर्सौ कि मायाले मैले लाएको गुन’, ‘हङकङको चुरोट गोरखपुरको सलाई’, ‘नरिसाउ न कान्छु, एकै छिनलाई जान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’ लगायत उहाँका थुप्रै चर्चित गीत छन् ।  उहाँलाई गायनमा स्थापित गर्ने गीत भने ‘तिउन मिठो बनायौ चुकैले, त्यो दिलभित्र अर्कैलाई राखेर मलाई ठिक्क बनायौ मुखैले’ हो । अहिलेसम्म १६ भन्दा बढी देशमा पुगेर आफ्नो प्रस्तुति दिइसक्नुभएको छ । नेपालकै पनि प्रायः सबै जिल्लामा पुग्नुभएको छ । सर्वोत्कृष्ट नवगायिकादेखि उत्कृष्ट गायिकासम्म उनले गायनबाट थुप्रै अवार्ड र पुरस्कार हात पारेकी छन् । पुरस्कार, सम्मानले आफूलाई झनै परिपक्व बनाएको उहाँ बताउनुहुन्छ ।

भूमिका आफ्ना लागि साङ्गीतिक क्षेत्र सबथोक भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सङ्गीत मेरा लागि नशा हो । यसबाट म टाढा हुन सक्दिन ।” यो क्षेत्रमा अवसर र चुनौती दुवै उत्तिकै छ । हरेक क्षेत्रमा अहिले निकै प्रतिस्पर्धा छ । त्यसमाथि अहिले ‘भाइरल’ को जमाना छ । चुनौतीको सामना गर्दै सङ्घर्ष गर्नेहरूका लागि साङ्गीतिक क्षेत्र आर्थिक रूपमा पनि उत्तिकै सबल भएको उहाँ बताउनुहुन्छ ।