• २१ वैशाख २०८१, शुक्रबार

योगदानमा आधारित सामाजिक सुरक्षा कोष

वैदेशिक रोजगारीका डेढ लाख आबद्ध

blog

काठमाडौँ, जेठ २५ गते ।  योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म एक लाख ५१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा गएका श्रमिक आबद्ध भएका छन् । दुई महिनाअघि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गराउने योजना कार्यान्वयनमा ल्याएपछि सो सङ्ख्यामा श्रमिक आबद्ध भएका हुन् । जसमा एक लाख ५० हजार जनाले वैदेशिक रोजगारमा जाने बेलामा कोषमा रकम जम्मा गरेका छन् भने वैदेशिक रोजगार वा स्वरोजगार रहेकामध्ये एक हजार २४० जनाले कोषमा रकम जम्मा थालेको कोषले जनाएको छ । 

कोषका अनुसार यसरी कोषमा आबद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकले हालसम्म ३० करोड रुपियाँभन्दा बढी रकम योगदान कोषमा जम्मा गरेका छन् । कोषका प्रवक्ता विवेक पन्थीले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा रोजगार र स्वरोजगार रहेका श्रमिकको कोषको उक्त योजनामा उत्साहजनक सहभागिता भएको बताउनुभयो । 

कोषका अनुसार हालसम्म सूचीकरण भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक छन् । कोषमा आबद्ध हुनेको अवस्था हेर्दा वैदेशिक रोजगारीका क्रममा गन्तव्य देशमा कार्यरतभन्दा वैदेशिक रोजगारीका लागि जानेको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ । 

विदेश जानेले अनिवार्य कोषमा योगदान गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले सङ्ख्या बढी भएको भन्दै प्रवक्ता पन्थीले विदेशमा रहेकाको हकमा कतिपय ठाउँमा कोषको अनलाइन प्रणाली विकास गर्ने क्रममै रहेको र भएका ठाउँमा पनि जनचेतनाको अभाव भएकाले सङ्ख्या थोरै भएको बताउनुभयो । उहाँका अनुसार कोष र वैदेशिक रोजगार विभाग सहकार्यमा तयार गरिएको अनलाइन प्रणाली कोषले अहिलेसम्म नेपालीका श्रम गन्तव्य देशमध्ये २० वटा देशमा आफ्नो अनलाइन प्रणालीको विकास गरिसकेको छ । 

कोषले चैत ८ गतेदेखि वैदेशिक रोजगारी र विदेशमा स्वरोजगार रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्धता गर्न सुरु गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागिता गराउन प्रमुख श्रम गन्तव्यका दूतावासलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्ने विश्वास कोषको छ । 

विदेशमा रहेका कतिपय श्रमिकमा योजनाबारे भ्रम रहेका कारण विदेशबाट आबद्धता हुनेको सङ्ख्या एक हजार २४० मात्र रहेको देखिन्छ । कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिकमा भ्रम रहेको कोषको बुझाइ रहेको छ । हालसम्म आबद्ध भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन् । 

सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको छ । नयाँ जाने श्रमिकले श्रम स्वीकृतिकै क्रममा योजनामा अनिवार्य आबद्ध हुने गरेका छन् । वैदेशिक रोजगारी जाने तयारीमा रहेका र विदेशमा रहेका श्रमिकले श्रम स्वीकृति लिने बेला, श्रम स्वीकृति नवीकरण गर्ने बेलामा योजनामा समावेश हुन सक्ने छन् । कोषका अनुसार योजनामा समावेश हुने श्रमिकले मासिक दुई हजार दुई रुपियाँ बुझाउनु पर्छ । रकम एकमुष्ट छ महिना वा एक वर्षसम्मको बुझाएमा जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने व्यवस्था छ । 

कोषका अनुसार यो रकम खल्ती, इसेवा र कनेक्ट आइपिएसमार्फत जम्मा गर्ने व्यवस्था गरेको छ । कोषले वैदेशिक रोजगारीमा रहेका २२ लाख श्रमिकलाई कोषमा समेट्ने तयारीसहित योजना सुरु गरेको जनाएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिकले योगदान गरेको रकम दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.८५ प्रतिशत छुट्याउने गरेको छ ।

योगदानकर्ताले निवृत्तिभरण योजनामा जम्मा भएको रकम र सो रकममा कोषले गरेको लगानीबाट प्राप्त प्रतिफलसमेत जोडी हुन आउने कुल योगदान रकम एकमुष्ट लिन वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवनभर निवृत्तिभरण लिने गरी रोज्न पाउने छन् । यसका साथै योगदानकर्ता दुर्घटनामा परेर अस्पताल भर्ना भए एक लाख रुपियाँसम्म उपचार खर्च पाउँछन् । 

विदेशमा रहेका श्रमिक आबद्ध भएपछि योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च पाउने कोषले जनाएको छ । जुनसुकै कारणबाट मृत्यु भएमा पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ । वैदेशिक रोजगारी अन्त्य भएपछि एकमुष्ट रकम लिन वा निवृत्तिभरण योजनामा सहभागी बन्न सक्ने व्यवस्था रहेको कोषले गरेको छ । कोषका अनुसार कोषमा हालसम्म १७ हजार ९३४ रोजगारदाता प्रतिष्ठान र पाँच लाख ६३ हजार ९३९ जना योगदानकर्ताबाट झन्डै ३५ अर्ब रकम जम्मा भइसकेको छ ।