धर्बेन्द्र झा
धनुषा, जेठ २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकको सफल कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
जनकपुरधाममा बुधबार नेपाल मुस्लिम सङ्घ धनुषाको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको नागरिकता विधेयकको सफल कार्यान्वयन भएमा १२ लाखभन्दा बढी नागरिकताविहीन नेपालीले नागरिकता पाउने उहाँले चर्चा गर्नुभयो ।
नागरिकताविहीन नागरिकको नागरिकता दिलाउन कदाचित सङ्घर्षको आवश्यकता परे नेपाली काँग्रेस अन्तिम सङ्घर्ष गर्न तयार रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका दलको गठबन्धन बाट निर्माण भएको वर्तमान सरकार पाँच वर्षसम्म चल्ने दाबी गर्नुभयो ।
अगामी चुनावमा कांग्रेस एक्लै चुनावमा जानुपर्ने धारणा पार्टीभित्र उठिसकेकाले आफ्नो सुझाव पनि त्यही भएको उहाँको भनाइ छ । आगामी चुनावको तयारीमा जुट्न पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाल मुस्लिम सङ्घ धनुषाका अध्यक्ष इबराहिम राइनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा काँग्रेसका नेता रामसरोज यादव, धनुषाका सभापति योगेन्द्र पञ्जियार, जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, नेपाल मुस्लिम सङ्घका केन्द्रीय सदस्य महोमद स्वेव रेजासहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।