काठमाडौं, जेठ २४ गते । साविक विजेता मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगका बुधबार विजयी भएका छन् । दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्बललाई ३–१ गोलले हरायो । च्यासल मैदानमा भएको अर्को खेलमा एनआरटीले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध बनायो ।
मच्छिन्द्रको जितमा अफिज ओलावालेले ६८औं र ७७औं मिनेटमा दुई गोल गर्नुभयो । अर्को गोल विमल घर्तीमगरले २६औं मिनेटमा गर्नुभएको थियो । हिमालयन शेर्पाका पिस्टोन मुटुम्बाले ९०औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।
जितसँगै मच्छिन्द्रको एक खेल अगावै दोस्रो स्थान पक्का भएको छ । मच्छिन्द्रको २५ खेलबाट ४२ अङ्क पुगेको छ । ४५ अङ्क बनाएको चर्च ब्वाइज युनाइटेडले एक खेल अगावै लिगको उपाधि जितिसकेको छ । पराजित हिमालयन शेर्पाको समान खेलबाट ३१ अङ्क छ ।
यस्तै च्यासल मैदानमा एनआरटीलाई जिताउन दिपेश आलेमगरले गोल गर्नुभयो । दिपेशले १७औं मिनेटमा गरेको गोल टोलीको जितमा निर्णायक बन्यो । जितसँगै एनआरटीले २५ खेलबाट ३३ अङ्क बनाएको छ । मनाङको समान खेलबाट ३२ अङ्क पुगेको छ ।