• ११ मंसिर २०८१, मङ्गलबार

यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राखिने

blog

यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारको अवस्थाबारे जानकारी गराउनुहुँदै डा. जगदीश जोशी । तस्बिर : प्रकाशविक्रम शाह

अविनाश चौधरी

धनगढी, जेठ २४ गते । यौन तथा प्रजनन् स्वास्थ्य अधिकारलाई पाठ्यक्रममा राख्न धनगढीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । 

धेरै व्यक्ति अझै पनि यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बारेमा अनविज्ञ रहेकाले पाठ्यक्रममा समावेश गर्नु पर्ने औँल्याइएको हो । पाठ्यक्रममा राख्दा यसका बारेमा धेरै किशोरकिशोरी सचेत हुने बताइएको छ । 

यौन तथा प्रजनन् स्वास्थ्य अधिकारको बारेमा नेपालको संविधानमा नै उल्लेख भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. जगदीश जोशीले बताउनुभयो । उहाँले सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रदेश स्वास्थ्य ऐन २०७६ ल्याइसकेको उल्लेख गर्नुहुँदै सुदूरपश्चिम प्रदेशमा किशोरी अवस्थामा हुने गर्भाधान प्रतिशत घटाउन आवश्यक रहेको बताउनुभयो । 

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार कुल जन्मदर २.१ रहेको सुदूरपश्चिममा किशोरी गर्भाधान १२.५ प्रतिशत रहेको छ । यसैगरी, परिवार नियोजनको कुनैपनि साधनको प्रयोगकर्ताको तथ्याङ्क ५८.६ प्रतिशत रहेको छ । किशोरी गर्भाधान प्रतिशत अझै कममा झार्नु पर्ने र परिवार नियोजनको साधन प्रयोग प्रतिशत बढाएर ६० पु¥याउन आवश्यक रहेको डा. जोशीको भनाइ छ । उहाँले विगत तीन वर्षयता, नवजात शिशु मृत्युदर स्थिर रहे पनि यसलाई अझ घटाउनु पर्नेमा जोड दिनुभयो । पछिल्लो वर्ष नवजात शिशुमृत्युदर १९ रहेको छ ।

त्यस्तै, सोही कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वाँरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका सवाललाई मिडियाले चासोका साथ उजागर गर्न आवश्यक रहेको औंल्याउनुभयो । यौन तथा प्रजनन् स्वास्थ्यका विभिन्न विषयवस्तु रहेका उल्लेख गनुहुँदै उहाँले ती विषयवस्तुका कारण परेका प्रभावलाई सञ्चार जगतले बाहिर ल्याउनु पर्नेमा जोड दिनुभयो ।  

यूथ एलाइन्स फर डिभलपमेन्ट (यार्ड) को आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा यार्डका महेन्द्र शाहीले यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका कुरालाई आम जनसमुदाय समक्ष पुर्‍याउन मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । 

किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकार बनाउन कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकाको विद्यालयमा यार्डले काम गरिरहेको छ । १५ देखि ३० वर्ष उमेरका युवायुवतीलाई सचेत पार्नका लागि विद्यालयहरूमा कार्यक्रम गर्दै आएको यार्डका अध्यक्ष स्वमाइल चौधरीले बताउनुभयो । “यसमा हामीले कक्षा ६ देखि माथिका कक्षाका विद्यार्थीलाई सहभागी गराएका छौँ”, उहाँले भन्नुभयो । 

विशेषगरी थारु समुदायमा बालविवाह बढ्दै गएको देखिएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको चौधरीको भनाइ थियो ।