• १२ मंसिर २०८१, बुधबार

मानसिक रोगीको उपचारमा मद्दत गर्दै पालिका

blog

भिमाद नगरपालिकाको कार्यालय । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २४ गते । तनहुँको भिमाद नगरपालिकाले आफ्नो पालिकामा स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीलाई उपचारमा मद्दत गर्ने निर्णय गरेको छ । 

मानसिक रोगको नियमित औषधि सेवन गरिएन भने बल्झिने सम्भावना बढी हुने, अज्ञानता, अन्धविश्वास र अशिक्षा जस्ता विषयहरूले अझैपनि मानसिक रोगीहरू स्वास्थ्य संस्थामा नआउने भएकोले मद्दत गर्ने निर्णय भएको नगर प्रमुख दधिराज सुवेदीले बताउनुभयो । सुवेदीले भन्नुभयो, "रोगीलाई हेलाको दृष्टिकोणले हेर्ने र उपचार पनि महँगो भएकोेले सहयोग गर्ने निर्णय गरेका हौँ ।" परिवारको स्वास्थ्य बीमाको खर्च नगरपालिको दिने र औषधी एक लाख ५० हजार विनियोजन गरिएको नगर प्रमुख सुवेदीले जानकारी दिनुभयो । 

स्वास्थ्य बिमाबाट औषधि खरिद गर्ने र बिमा नसमेटिएको औषधि खरिदको लागि सो रकम विनियोजन गरिएको उहाँले बताउनुभयो । आफ्नो पालिकामा ३५ जना मानसिक रोगी रहेको फेला परेका र रोगले गर्दापनि आर्थिक समस्या परेका पाइएकोले सहयोग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । मानसिक रोगीलाई सहयोग पुर्‍याउन यही जेठ २७ गते विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविरको आयोजना गरिएको उपप्रमुख शारदा खनालले जानकारी दिनुभयो । 

स्वास्थ्यको मौलिक हकलाई हरेक नागरिकको पहुँचमा पुर्‍याउन नगरपालिकाले उत्साहपूर्ण र मत्वाकांक्षी योजनाका रूपमा मानसिक रोगीको बीमा शुल्क पालिकाले तिर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रम अन्तर्गत नगरपालिकाले हरेक मानसिक रोगी र उहाँको परिवार समेत गरी पाँच जनाको बीमा गर्दा लाग्ने तीन हजार पाँच सय रुपियाँ तिरिदिने छ ।