अमरराज नहर्की
तनहुँ, जेठ २३ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम अत्यन्त सुस्त गतिमा भएको छ । सडक विस्तारको काम सम्झौता भएको आधा समय बितिसक्दा सो सडक विस्तारको प्रगति भने निराशाजनक छ ।
काम सुस्त गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती, ट्राफिक जामको समस्या झेलिरहेका छन् भने धुलोले गर्दा ग्राहक नआउँदा राजमार्गका व्यापारी पेसा नै छाड्न पर्ने अवस्था आएको छ । सीमित कामदारले सुस्त गतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ ।
पश्चिम खण्डमा पर्ने तनहुँको जामुनेदेखि कास्कीको पोखरासम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ तर आधाभन्दा बढी अवधि ७ प्रतिशत मात्रै पुरा भएको छ । निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,
"कछुवा गतिमा काम भएकोले हालसम्म ७ दशमलव ०७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।"
ठेकेदारलाई समयमा नै काम पुरा गर्न बारम्बार ताकेता गर्ने र पत्र लेखिरहेका छौँ तर पनि सन्तोष जनक प्रगति नभएको उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई त्रुटि सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।
बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको निर्माण कम्पनीले जनाएको छ । पश्चिम खण्डको जामुनेदेखि पोखरासम्मको खण्डको काममा सन्तोष मान्ने अवस्था नदेखिएकाले ठेकेदार कम्पनीलाई समयमा नै काम गर्न ताकेता गरेको तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले बताउनुभयो । किन ढिलाइ भयो भनेर निर्माण कम्पनीलाई ताकेता गरेपछि कामले गति लिने प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।
सांसद भण्डारीले शनिबार सडकको स्थलगत निरीक्षण गर्दै काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो । सडक विस्तार आयोजनाका ठेकेदार चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर ज्याकी र बिजनेस म्यानेजर जिया हाओसँग शनिबार भेट गर्दै काममा भएको ढिलाईबारे सांसद भण्डारीले चासो राख्नु भएको थियो । सांसद भण्डारीले सडकको काम हुँदा धुलोले जनताले खेप्नुपरेको सास्ती, वातावरण प्रदूषण लगायतमा ध्यान दिन निर्देशन दिनु भएको थियो ।
काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीले बताउनुभयो । सांसद भण्डारीले भन्नुभयो, "सडक अनुगमनको क्रममा काम सन्तोष जनक देखिएन जनतालाई यात्रुलाई सास्ती भोग्नुपरेकोले गम्भीर भई काम द्रुत रूपमा गर्नु आवश्यक देखियो ।" भण्डारीसँगको कुराकानीको क्रममा प्रोजेक्ट म्यानेजर ज्याकीले समयमै कार्य सम्पन्न गर्न र स्थानीय जनताले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।
पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ ।
दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेन सहित ६ लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ । काम सुस्त गतिमा हुँदा लामो समयसम्म धुलोमैले सताएकोले यात्रा असहज हुनका साथै व्यापार प्रभावित भएको स्थानीय बासिन्दाले बताएका छन् ।
धुँलोमैलोले गर्दा ९० प्रतिशत व्यापार घटेकोले व्यापार नै छाड्नु पर्ने अवस्था आएको छ म्याग्दे गाउँपालिका–२ गुणादीस्थित गुणादी हाइवे रेष्टुरेण्टका सञ्चालक विनोद खनालले भन्नुभयो । पूर्वी खण्डको भने कामले गति लिएको छ । पूर्वी खण्डले भने सडक कालोपत्रे गर्ने कार्य समेत सुरुवात गरिरहेको छ ।
चार लेन मध्ये पहिलो चरणमा दुईलेनको कालोपत्रे सुरु गरिएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । यसै आर्थिक वर्षमा सात किलोमिटर पुरा गर्ने गरी कालोपत्रे धमाधम भइरहेको सुवेदीले बताउनुभयो । यातायात आवागमनलाई सहजकताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने उहाँले जानकारी दिनुभयो ।
यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी सुवेदीले दिनुभयो ।
सुवेदीले भन्नुभयो, "निर्धारित समयमा पुरा गर्ने गरी कामलाई तीव्र पारेका छौँ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिनेछ ।"
पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।