• १२ मंसिर २०८१, बुधबार

खप्तडमा आध्यात्मिक योग सम्मेलन

प्रधानमन्त्री प्रचण्डबाट आज उद्घाटन

blog

प्रकाशविक्रम शाह

धनगढी, जेठ २३ गते । सुदूरपश्चिम प्रदेशको चर्चित धार्मिक, आध्यात्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलनको तयारी पूरा भएको छ। मङ्गलबार बिहानबाट सो सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मङ्गलबार बिहान खप्तड आउने कार्यक्रम रहेको छ। 

सो कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्वप्रधानमन्त्री, लोकप्रिय योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायतको उपस्थिति हुने बताइएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने यस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने जानकारी आयोजकले दिएको हो। 

त्यस अवसरमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने जनाइएको छ। डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ। बाबा रामदेवले योगाभ्यास गराउने कार्यक्रम रहेको नेपालका योगगुरु लबदेव मिश्रले बताउनुभयो। पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्ण र आफूले योगा गराउने कार्यक्रम रहेको उहाँले बताउनुभयो। 

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले दोस्रो दिन योगाध्यासका साथसाथै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं इतिहासविद् डा राजाराम सुवेदीले खप्तडको धार्मिक र पर्यटन सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नु हुने भएको छ। सो अवसरमा चतराधाममा बस्दै आउनु भएका महायोगी जगत्गुरुले शिद्धबाबा कृष्णदास महाराजले पनि प्रवचन दिने कार्यक्रम छ। प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्रीहरू सोमबार डोटी हुँदै खप्तड पुगिसक्नु भएको छ। 

खप्तड पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक तथा मूल समारोह समितिका सदस्य सचिव भीमबहादुर खड्काले खप्तडमा आयोजना हुने आध्यात्मिक योग सम्मेलनमा करिब ५०० जनाको सहभागिता हुने जानकारी दिनुभयो। त्यहाँ पुग्नेका लागि अस्थायी टेन्ट, स्लिपिङ ब्याग र खानाको व्यवस्था गरिएको छ। खप्तडमा हुने आध्यात्मिक योग सम्मेलनले खप्तड क्षेत्रलाई विशवव्यापी रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। खप्तड जाने क्रममा प्रदेश मुकाम धनगढी आइपुग्नु भएका पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णले  सुदूरपश्चिमको विकास र कल्याणका लागि आफूले सदैव रचनात्मक कुरा सोच्ने गरेको बताउनुभयो। 

खप्तड क्षेत्र स्विट्जरल्यान्डभन्दा पनि सुन्दर भएको दाबी गर्दै उहाँले यसको उचित प्रचारप्रसार र विकास गर्न सके धार्मिक, आध्यात्मिक र आर्थिक पक्षमा कायापलट गर्न सकिने बताउनुभयो। खप्तड धेरै सम्भावना भएको ठाउँ हो उहाँले भन्नुभयो, “प्रदेश सरकार र सङ्घीय सरकारले खप्तडको विकासमा नयाँ योजना अगाडि बढाए हामी यसमा सहयोग गर्न तयार छौँ।” खप्तड क्षेत्रमा पाइने जडीबुटीको अन्वेषण गर्न पतञ्जलीको विज्ञ टोली आएको बताइएको छ। निकट भविष्यमै कैलाश मानसरोवर र खप्तडलाई आपसमा जोड्नुपर्ने आवश्यकतासमेत औँल्याएको छ। 

खप्तडबाबाले ५० वर्ष साधना गरेको खप्तड क्षेत्रलाई पर्यटकीय हिसाबले ‘भर्जिन’ क्षेत्रका रूपमा लिने गरिन्छ। आध्यात्मिक सम्मेलनपछि खप्तडमा भारतीयसँगै तेस्रो मुलुकबाट आउने पर्यटक बढ्ने विश्वास गरिएको छ। काशीको दक्षिणामूर्ति मठमा पूर्वीय दर्शनको अध्ययन, अध्यापनपछि गहन साधनाका लागि खप्तड पुगेका खप्तडबाबाले खप्तड बसाइका क्रममा धर्म विज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, योग विज्ञान, वेदान्त विज्ञान र आत्मज्ञानलगायत दर्जन कृति लेख्नु भएको छ।

ठुलाठुला पाटन (चौर), पाटनभरि फैलिएका रङ्गीबिरङ्गी फूल, दह (ताल), जीवजन्तु र हिमालको प्राकृतिक सौन्दर्यले सुशोभित खप्तडबारे स्कन्द पुराणमा समेत चर्चा गरिएको पाइन्छ। खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक वासस्थानको हिसाबले पनि त्यत्तिकै महत्वपूर्ण छ। धार्मिक किंवदन्ती अनुसार पाण्डुपुत्र युधिष्ठिर खप्तडको बाटो हुँदै स्वर्ग गएका थिए। त्रिवेणीधाम, केदारढुङ्गा, नागढुङ्गा, खप्तड दह, खप्तड आश्रम, सहस्र लिङ्ग, खप्तडबाबाको कुटी जस्ता पवित्र धार्मिक सम्पदाले यहाँको धार्मिक गरिमालाई थप उचाइ दिएको छ।

२२ पाटन, २५ मैदान र ५२ वटा थुम्काले भरिपूर्ण एवं जैविक विविधताको फूलबारी खप्तडमा सयौँ प्रजाति चरा, ३७२ प्रजातिका वनस्पति र १३० थरीका जडीबुटी पाइन्छन्। यो समुद्री सतहबाट तीन हजार दुई सय मिटरको उचाइमा झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ। खप्तड क्षेत्रमा गङ्गा दशहरा, जनैपूर्णिमामा हजारौँ तीर्थयात्री पुग्ने गरेका छन्। खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ।