आर. मानन्धर
एउटा जङ्गलमा धेरै मृगहरू बस्थे । त्यसैले त्यो जङ्गलमा धेरै सिकारी पनि आउने गर्थे । त्यसैले मृगहरू सधैँ चनाखो भएर बस्नु पथ्र्यो । नभए ती सिकारीको पासोमा पर्थे ।
जङ्गलमा मृगहरूका एक जना गुरु थिए । गुरुले साना साना मृगहरूलाई ‘मृग माया’ सिकाउँथे । मृगमाया भनेको अनेक खालका अभिनय हो । यसलाई नक्कल गर्ने कलाभन्दा पनि हुन्छ । सिकारीबाट बच्न मृगहरूले अभिनयका तरिकाहरू सिक्नु पथ्र्यो ।
एउटा मृग आमाका दुई सन्तान थिए । एक छोरा र एक छोरी । आमा मृगले आफ्ना छोराछोरीलाई गुरुकहाँ शिक्षा लिन पठाएकी थिई ।
छोराचाहिँ अलि बदमास थियो । ऊ धेरै समय खेलेर बस्थ्यो । गुरुकहाँ समयमा पुग्दैनथ्यो । पुग्दा पनि गुरुले सिकाएका कुरामा ध्यान दिँदैनथ्यो ।
छोरीचाहिँ भने असल थिई । ऊ गुरुकहाँ समयमै पुग्ने गर्थी । गुरुले सिकाएका कुरा ध्यान दिएर सुन्ने गर्थी । अभ्यासहरू पनि राम्ररी गर्थी । पढाइ सकिएपछि मात्रै खेल्ने गरेकी थिई ।
एक दिन छोराचाहिँ खेल्दा खेल्दै सिकारीले थापेको पासोमा प¥यो । उसको एउटा खुट्टा सिकारीको पासोमा अल्झेको थियो । ऊ भाग्न नसक्ने भयो ।
मृग पासोमा परेको देखेर सिकारी धेरै खुसी भयो । सानो मृगलाई बेस्कन बाँधेर घर लग्यो । घर पुगेपछि मृगलाई मारेर पकायो । सिकारीका स्वास्नी, बच्चा बच्चीले कति मीठो मासु भन्दै रमाएर खाए ।
छोरा नआएपछि मृगकी आमाले बिलौना गरी । उसलाई थाहा भयो कि उसको छोरा सिकारीले मारेर खाइसक्यो । कुनै अर्को दिन फेरि खेल्दा खेल्दै मृगकी छोरी पनि सिकारीको पासोमा परी । ऊसँगै खेलिरहेका मृगहरू भागेर गएर मृगकी आमालाई उसकी छोरी पासोमा परेको कुरा बताए ।
मृगकी आमा निकै रोए । ला मेरो छोरा त गयो गयो, अब छोरी पनि जाने भयो भनेर बिलौना गरी । त्यसै बेला मृगका गुरु आइपुगे । गुरुले भने, “बिलौना नगर बहिनी । तिम्री छोरी साँझसम्म पक्कै फर्केर आउँछे । उसलाई मैले मृगमाया सिकाएको छु । तिम्रो छोराले मैले पढाउँदा ध्यान दिएको थिएन । सात पटकसम्म समय दिँदा पनि ऊ समयमा आएको थिएन तर तिम्री छोरीले राम्ररी सिकेकी छे । ऊ समयमै आइपुग्ने गरेकी थिई र सिकाएका कुरा ध्यान दिएर सिकेकी थिई । उसले अभ्यास पनि गरेकी छे ।”
पासोमा परेपछि मृग निकै आत्तिई । केही बेरपछि भने उसले गुरुले सिकाएको मृगमायाको पाठ सम्झी । अनि उसले गुरुले सिकाएजस्तै गर्न थाली ।
पहिला उसले बेस्कन धुलो माटो खोतली । ताकि सिकारीलाई लागोस् कि उसले पासोबाट फुत्कन निकै प्रयास गरेकी थिई । त्यसपछि उसले दिसापिसाब गरी । ताकि सिकारीलाई लागोस् कि डरले उसको दिसापिसाब निस्केको थियो ।
अनि ऊ मरेको झै गरेर भुइँमा पल्टी । ऊ मुखबाट -याल निकालेर, घाँटी पसारेर, खुट्टा तन्काएर सुती । ऊ आँखा पल्टाएर, जिब्रो निकालेर मरेझैँ गरेर पल्टिरही । मृगको यस्तै चालालाई ‘मृगमाया’ भनिन्छ ।
साँझ परेपछि सिकारी आयो । उसले पासोमा परेकी मृग पल्टिरहेको देख्यो । ऊ धेरै खुसी भयो । अस्ति जस्तै आज पनि परिवारलाई मासु खुवाउन पाइने भयो भनेर दङ्ग प-यो ।
उसले मृगको सबै लक्षण हे-यो । मृग डराएरै मरिसकेको ठान्यो । उसले मृगको पेट थप थपाएर हे¥यो । मृगले कुनै हलचल गरेन । उसलाई पक्का भयो कि मृग त मरिसकी ।
सिकारीले सोच्यो कि अब यसलाई बोकेर घर लानु प-यो तर मृगको जिउ फोहोर थियो । धुलोमाटो लागेको थियो । दिसापिसाब पनि लागेको थियो ।
सिकारीले मृगको खुट्टामा बाँधिएको पासो खोल्यो । उसले मृगको जिउमा भएको फोहर सफा गर्न थाल्यो । त्यही बेला ताक पारेर मृग जुरुक्क उठेर स्वात्तै जङ्गलमा भागिहाली । ऊ त धनुषबाट निस्केको वाण जतिक्कै वेगले भागेकी थिई ।
सिकारी त हेरेको हे-यै भयो ।
मृग भागेर सिधै आफ्नी आमा भएको ठाउँ पुगी । छोरी फर्केको देखेर आमाको आँखामा खुसीको आँसु छचल्क्यो । आमाले छोरी मृगलाई निकै माया गरी । सिकारीबाट बचेर आउन सकेकोमा बधाई दिई । आमा छोरी दुवैले गुरुलाई धेरै धेरै धन्यवाद दिए ।
(यो कथा दुण्डबहादुर वज्राचार्यद्वारा मूल पालीबाट नेपाल भाषामा अनुदित जातक भाग १ को कथा सङ्ख्या १५ खरदियजातकर कथा सङ्ख्या १६ तिपल्लत्थमिग जातकमा आधारित हो ।)