• ११ मंसिर २०८२, बिहिबार

परम्परागत खेती छाडेर कामिनी पत्ता उत्पादनमा किसान

blog

सुनकोशी गाउँपालिका–६ पाखरदोभानका किसान रेशमबहादुर भण्डारीले गर्नुभएको कामिनी पत्ता खेती । तस्बिर : चित्रकुमार मिजार

चित्रकुमार मिजार    
सिन्धुपाल्चोक, मङ्सिर ११ गते ।
सिन्धुपाल्चोकका किसानहरु परम्परागत खेती छाडेर फुलखेतीअन्तर्गतका कामिनी पत्ता उत्पादनमा लाग्दै आएका छन् । कामिनी पत्ताको पात, हाँगा, फुल विवाह, ब्रतवन्ध, विभिन्न पार्टी, कार्यक्रममा सजावटका लागि प्रयोग गरिन्छ ।

खेर गएका पाखा खेतबारी, बाँझो जग्गामा कामिनी पत्ताको खेती गरेर उनीहरुले आम्दानी लिन थालेका छन् । व्यक्तिगत र सामूहिक फर्ममार्फत कृषकहरुले कामिनी पत्ता उत्पादनमा लागेका हुन् । सुनकोशी गाउँपालिका–६ पाखरदोभानका रेशमबहादुर भण्डारीले परम्परागत खेती छाडेर कामिनी पत्ता उत्पादनमा लागेर आम्दानी लिन थाल्नुभएको छ ।

खेर गएको २१ रोपनी जग्गामा कामिनी पत्ता, लिची, एभोगाडो, कफी खेती गरेर भण्डारीले मनग्गे आम्दानी लिदै आउनु भएको छ । ०८० सालमा एक हजार वटा कामिनी पत्ताको विरुवा रोपेर आम्दानी राम्रो हुन थालेपछि गत साल पाँच हजार कामिनी पत्ताको बोट रोपेर भण्डारीले आम्दानी लिदै आउनु भएको छ । कामिनी पत्ताबाट उदाहरणीय कृषि कर्म गरेपछि भण्डारीको सयपत्री कृषि फर्मलाई सुनकोशी गाउँपालिकाले गत वर्ष तीन लाख बराबरको कामिनी पत्ताको विरुवा अनुदानमा दिएको थियो ।

दुई पटक गरेर १२ लाख लागतमा कामिनी पत्ता खेती सुरु गर्नुभएका रेशमको फर्ममा अहिले २० लाख बढीको पुँजी छ । उहाँले बार्षिक लाखौंको कामिनी पत्ता, पाँच लाख बढीको लिची, एक लाख बढीको एभोगाडो, एक लाख बढीको बिमिरा, कफी, रुद्राश्र बिक्री गर्दे आउनुभएको छ । रेशमले यस वर्ष १३ रोपनी भाडामा जग्गा लिइ पाँच हजार कामिनी विरुवा थप रोप्नु भएको छ । कामिनी पत्ता, गोल्डेन बटम ब्रुस खेती सुरु गरेपछि सिन्धुपाल्चोकका अन्य किसानहरु त्यसखेतीतर्पm लागेका छन् ।

तत्कालीन समयमा सुनसरी जिल्लाबाट कामिनी पत्ताको विरुवा ल्याएर खेती गर्दे आउनु भएका रेशमले आफैँले विरुवा उत्पादन गरेर अरु कृषकलाई बिक्री वितरण गर्न लाग्नुभएको छ । गाउँघरमै बसेर कामिनी पत्ता फुलखेतीबाट आम्दानी लिन थालेपछि भण्डारीको कृषि फर्मलाई स्थानीय सरकारले प्रोत्साहन दिन थालेको छ । आफ्नो घरगाउँमा बसेर नगदेबाली, तरकारी खेती, पशपन्छीपालन लगायतका कृषि व्यवसाय गर्ने किसान फर्मलाई पालिकाले अनुदान र प्रोत्साहन प्रदान गर्दे आएको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।