• १३ वैशाख २०८१, बिहिबार

गेटा प्रतिष्ठान बनाउने विषयमा आपत्ति

blog

अविनाश चौधरी 

धनगढी, जेठ २० गते । सङ्घीय सरकारले कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठानका रूपमा सञ्चालन गर्ने निर्णयप्रति सुदूरपश्चिम प्रदेशवासीले आपत्ति जनाएका छन्। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई प्रतिष्ठान बनाउने निर्णय सुनाउनुभएको थियो। त्यसअघिको सरकारले विश्वविद्यालय बनाउने निर्णय गरिएको थियो। 

आफ्नै निर्णयको खिलाप हुने गरी सङ्घीय सरकारले गेटामा विश्वविद्यालय नभई स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनका लागि बजेट विनियोजन गरेपछि प्रदेशवासीमा निराशा छाएको छ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आशा देखाएर सरकारले फेरि प्रतिष्ठानमै झार्नु अन्याय भएको भन्दै स्थानीयले रोस प्रकट गरेका छन्। 

गत माघ २९ गते सङ्घीय सरकारको मन्त्रीपरिषद् बैठकले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो। सरकारले विश्वविद्यालय बनाउने निर्णय गरेर प्रतिष्ठानका रूपमा अगाडि बढाउन बजेटको व्यवस्था गरेपछि आन्दोलनसमेत सुरु भएको छ। 

प्रदेश सभाको बैठकमा शून्य समय माग गर्दै सत्तारूढ तथा प्रतिपक्ष दलका प्रदेश सभा सदस्यहरूले सङ्घीय सरकारको निर्णयप्रति आपत्ति जनाउनुका साथै निर्णय सच्याउन माग गरेका छन्। सङ्घीय सरकारले आफ्नै निर्णय र नीति तथा कार्यक्रमलाई  लत्याएर प्रतिष्ठान सञ्चालनको विषय अगाडि बढाउनु सुदूरपश्चिमका जनताप्रति अन्याय रहेको प्रदेश सभा सदस्यहरूको भनाइ छ। 

सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले विश्वविद्यालय घोषणा गरिएको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने कुरा आउनु आपत्तिजनक रहेको बताउनुभयो। उहाँले यही सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको स्मरण गराउँदै  बजेट भाषणमा सार्वजनिक गरिएको निर्णय सच्याउन आग्रह गर्नुभयो। 

त्यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्नुहुने प्रदेश सभा सदस्य शिवसिंह ओलीले गेटामा विश्वविद्यालय बनाउने प्रक्रियासमेत  अगाडि बढिसकेको बेलामा स्वास्थ्य र शैक्षिक क्षेत्रका माफियाहरूको चलखेलमा प्रतिष्ठान सञ्चालनको कुरो आउनु आपत्तिजनक भएको जिकिर गर्नुभयो। पुरानो निर्णय अनुसार अगाडि बढ्न सङ्घीय सरकारलाई आग्रह गर्दै उहाँले सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउनुभयो। 

प्रमुख प्रतिक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले स्वास्थ्य क्षेत्रमा कायापलट हुने सुदूरपश्चिम प्रदेशवासी जनताको आशामाथि तुसारापात गर्ने कार्य सङ्घीय सरकारको बजेटले गरेको बताउनुभयो। गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि अर्बौं लगानीमा बनेको संरचनासमेत अलपत्र पार्न खोजिएको गुनासो उहाँले गर्नुभयो। 

“यो प्रदेशको जनतालाई केन्द्रीय शासन सत्ताले जहिले पनि अन्याय र विभेद गर्दै आएको छ,” उहाँले अगाडि थप्नुभयो, “त्यसको क्षतिपूर्ति स्वरूप विश्वविद्यालय बन्छ भन्ने आश थियो तर, एक सय बेडको अस्पताल सञ्चालन गरेर सरकारले प्रतिष्ठान बनाउन खोज्नु सरासर अन्याय हो।” 

अन्य प्रदेशमा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन भइरहेको अवस्थामा यो प्रदेशलाई अन्याय भएको छ उहाँले भन्नुभयो, प्रदेश सभाबाट सङ्कल्प प्रस्ताव पारित गरेर विश्वविद्यालय सञ्चालनका लागि सङ्घीय  सरकारलाई घचघच्याउनुपर्ने भएको छ। नेपाल सरकारको लगानीमा २०७४ सालबाट गेटा मेडिकल कलेजको भौतिक पूर्वाधार निर्माण कार्य सुरु भएको थियो। हालसम्म साढे पाँच अर्ब रुपियाँ लागतमा पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ।

मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा अनुसार अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य गत वर्ष नै पूरा भइसकेको छ। विद्युत्, खानेपानी र फोहोरमैला व्यवस्थापन गर्ने संरचना निर्माणको कार्य भइरहेको छ। 

स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने योजना अनुसार करिब ९० प्रतिशत निर्माण कार्य पूरा भएको पुजाराको भनाइ छ। १३ वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएकोमा हालसम्म सात वटा प्याकेजको काम सम्पन्न भइसकेको छ। बाँकी छ वटा प्याकेजको काम २०८० सालको चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ।