फिदिम समाचारदाता
फिदिम, जेठ २० गते । छारे रोग र विपन्नतासँगै जीर्ण छाप्रोमा दुई जना छोराछोरीका साथ जीवनयापन गरिरहेका मिक्लाजुङ गाउँपालिका–८, दुरदिम्बा निवासी भीमबहादुर तामाङको परिवारलाई नयाँ घर बनाएर हस्तान्तरण गरिएको छ।
तामाङ परिवारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले नयाँ घर बनाइदिनुभएको हो। काठ र टिन प्रयोग गरेर निर्माण गरिएको तीनकोठे घर हस्तान्तरण गरिएको छ। घर निर्माणका लागि जिल्लामा क्रियाशील सामाजिक संस्था जनसेवा समाज पाँचथरले समन्वय गरेको थियो।
घर निर्माणमा लाग्ने सबै खर्च आङदेम्बेले उपलब्ध गराउनुभयो। आवश्यक काठ भने स्थानीय सामुदायिक वन नेपाली सेनाको रणशेर गणले श्रम सहयोग गरेको थियो। घर निर्माण गर्न नेपाली सेनाका १० जना जवानले नौ दिनसम्म निरन्तर श्रम गरेको समन्वयकर्ता जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो।
यसअघि पानी चुहिने जीर्ण घरमा बसिरहेको तामाङ परिवार नयाँ घरमा सरेको छ। घर निर्माणमा दुई लाख २७ हजार रुपियाँ खर्च भएको अधिकारीले बताउनुभयो। नयाँ घर पाएपछि तामाङ निकै खुसी देखिनु हुन्थ्यो। “गरिबलाई पनि भगवान्ले हेर्दा रहेछन् आज म निकै खुसी छु,” उहाँले भन्नुभयो।
तामाङका श्रीमतीले आत्महत्या गर्नुभएको थियो। एक छोरी विवाह गरेर गएपछि दुई अविवाहित छोराछोरीसहित तामाङा सानो छाप्रोमा बस्दै आउनुभएको थियो। यसअघि पाँचथरकै फालेलुङ–३ का लक्ष्मण राईका लागि पनि आङदेम्बेको आर्थिक सहयोगमा घर निर्माण गरिएको थियो। आङदेम्बेले उक्त घर फागुन ७ गते प्रजातन्त्र दिवसको सन्दर्भ पारेर हस्तान्तरण गर्नुभएको थियो।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                