• १३ वैशाख २०८१, बिहिबार

भैरहवामा अत्यधिक गर्मी, जनजीवन प्रभावित

blog

अत्यधिक गर्मीले मानिसको आवागमन घटेपछि भैरहवामा देखिएको सुनसान सडक । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, जेठ १९ गते । अत्यधिक गर्मीका कारण रुपन्देहीको जनजीवन प्रभावित बनेको छ । भैरहवा क्षेत्रमा तापक्रम लगातार बढ्दै जाँदा हिँडडुल गर्न समस्या भएको स्थानीयको भनाइ छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो ।

गर्मीले सबैभन्दा बढी स्कुले बालबालिका, वृद्ध र दिनभरि काम गरेर खाने मजदुरलाई प्रभावित पारेको छ । कतिपय विद्यालयले गर्मी बिदा दिएका छन् । अत्यावश्यक कामबाहेक सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । दिउँसो ११ बजेदेखि ५ बजेसम्म सडकमा आवागमन पातलिने गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिनअनुसार भैरहवाको अधिकतम तापमान ४१ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो कडा घाम रहेकाले सकभर घरबाहिर ननिस्कन र निस्कन परे पातलो प्रकारको लामबाहुले कपडा लगाउन तथा छाता ओढ्न चिकित्सकले सुझाव दिएका छन् । 

वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले शरीर पुरै ढाकिने कपडा लगाएर हिँडेमा छालाजन्य रोगबाट बच्न सकिने बताउनुभयो । गर्मी बढेपछि चिसो र फलफूलको व्यापार भने बढेको छ । बजारमा चिसो पेय पदार्थसँगै, उखुको रस, खरबुजा र जुसको व्यापार बढेको छ ।

भीम अस्पताल भैरहवामा गर्मीका कारण अस्पताल आउने बिरामीको चाप पनि बढ्दैगएको छ । सामान्य अवस्थामा दैनिक एक सय ५० देखि दुई सय जनासम्म बिरामी आउनेगरेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले गर्मीकै कारण दैनिक चार सयसम्म बिरामी आउनेगरेको अस्पतालका सूचना अधिकारी डा. आरिफ हुसेनले बताउनुभयो ।

उहाँले अधिकांश झाडा पाखाला, वान्ता र भाइरल खोकीका बिरामी अस्पताल आउनेगरेको बताउनुभयो । अहिले अत्यधिक गर्मीका कारण बच्चाको मुख सुक्ने, पानीको कमी हुने लगायतको समस्या देखिएका कारण उनीहरूलाई झोलिलो पदार्थ खान दिन हुसेनले आग्रह गर्नुभयो ।