• १४ वैशाख २०८१, शुक्रबार

अफगानिस्तानमा महिलामाथिको अत्याचार रोकिएन

blog

काबुल, अफगानिस्तान, जेठ १९ गते । अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो सरकारलाई मान्यता दिन र सहयोग गर्न बारम्बार आह्वान गरिरहेको तालिबान शासनले अफगान महिला र केटीहरूमाथिको दमन बढाइरहेको छ ।

“तालिबानका दमनकारी एवम् गैरजिम्मेवारपूर्ण गतिविधिले उ विकासका निम्ति अन्तर्राष्ट्रिय जगत्सँग संलग्न हुन र साझेदारी गर्न नइच्छुक रहेको सङ्केत गर्छ,” ह्युमन राइट्स वाचका महिला अधिकार निर्देशकलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह हसन अखुन्दजादाले आफ्नो कतारी समकक्षीसँगको भेटमा कतारी अधिकारीहरूलाई अफगानिस्तान र अन्तर्राष्ट्रिय समुदायबीच विश्वासको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गर्नुभएको थियो ।

तालिबानका एक जना प्रवक्ताले तालिबानसँग कतारको बलियो सम्बन्ध रहेको तर महिलाप्रतिको नीतिलाई लिएर दोहाले काबुलको आलोचना गरेको बताउनुभयो । अफगानिस्तानको सत्ता कब्जा गरेदेखि, तालिबान नेतृत्वले लगातार अफगान महिला र केटीहरूको शिक्षा र रोजगारीमा पहुँच प्रतिबन्ध लगाउने कडा आदेश जारी गरेकामा कतारले आलोचना गरेको खामा प्रेसले बताएको छ ।

कलेज र स्कुलमा छात्रालाई निषेध गरिएपछि हजारौँ महिला घरमै बसेका छन् भने  स्थानीय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा महिलालाई काममा प्रतिबन्ध लगाइएको छ । यद्यपि केही महिलाले विद्रोह गरेर व्यापार वा अन्य व्यावसायिक प्रयास थालेका छन् ।  रासस/एएनआई