काठमाडौं, जेठ १८ गते । केही दिन यता काठमाडौं उपत्यकालगायत देशभरको तापक्रम वृद्धि हुँदैगएको छ । यस वर्ष मनसुन केही ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौंको अधिकतम तापक्रम २९ डिग्री सेन्टिग्रेड रहेको छ । केही दिन काठमाडौंको तापक्रम पनि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यस वर्षको मनसुन ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको बताउनुभयो ।
महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यस वर्षको मनसुन ढिलागरी नेपाल प्रवेश गर्ने भएकाले गर्मी अझै बढ्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदैगएको छ । त्यसकारण तत्काल पानी पर्ने सम्भावना छैन । यस वर्षको मनसुन पनि ढिलागरी प्रवेश गर्ने भएकाले गर्मी बढ्ने देखिन्छ ।”
गर्मी अझै बढ्न सक्ने भएकाले विशेष ख्याल गर्न उहाँको सुझाव छ । सामान्यतया नेपालमा मनसुनको प्रवेश जुन १३ लाई दिने गरिएको छ । तर अहिले नेपालमा प्रवेश गर्ने मनसुन पूर्णरुपमा विकसित नभएकाले जुन १३ (अर्थात् जेठ ३०) मा मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।
गर्मीले जनजीवन प्रभावित
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कम हुँदै गएपछि गर्मीले तराईको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण झापा, मोरङ, सुनसरी, विरगञ्ज लगायतका जिल्लामा पठनपाठन समेत केही दिनलाई बन्द गरिएको छ । मौसमविद् झाका अनुसार जनकपुर, विरगञ्ज, भैरहवा, नेपालगञ्जलगायत तराईका सबै क्षेत्रको तापक्रम बढेर ४३ डिग्री सेन्टिग्रेटसम्म पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “तराईमा हालको अधिकतम तापक्रम ४० देखि ४२ डिग्री रहेको छ । यस्तै न्यूनतम तापक्रम २२ डिग्री सेन्टिग्रेट छ । अझै केही दिन गर्मी बढ्ने भएकाले यो अधिकतम तापक्रम बढेर ४३ देखि ४४ डिग्री पुग्न सक्दछ ।”
असार पहिलो साता मनसुन भित्रिने
मौसमविद् गोविन्द झाका अनुसार यस वर्षको मनसुन जुन १३ अर्थात (जेठ ३० गते) नेपालमा भित्रनुपर्ने हो । तर नेपाल भित्रिने मनसुन विकसित नै नभएर लुप्त रहेकाले असार पहिलो हप्ता मात्र मनसुन भित्रिने सम्भावना रहेको उहाँले बताउनुभयो ।
नेपाल भित्रिने मनसुन विकसित नै नभएर लुप्त रहेकाले असार पहिलो हप्ता मात्र मनसुन भित्रिने सम्भावना रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा जुन १३ मा भित्रनुपर्ने मनसुन यतिवेला भारतमा देखा परिसक्नुपर्ने हो । तर हाल भारतमा पनि यसको प्रभाव नरहेकाले नेपालमा मनसुनको प्रवेश असार पहिलो साता मात्र हुने सम्भावना छ । यस वर्ष मनसुन समयमा कम मात्रामा वर्षा हुने भएकाले तापक्रम पनि बढी हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                