रुकुमपूर्व समाचारदाता
रुकुमपूर्व, जेठ १७ गते । ढुङ्गैढुङ्गाले बनेका झुपुक्क घर। ढुङ्गा नै बिछ्याएर बनाइएको सफा र फराकिला बाटाघाटा। स्थानीय खानपान तथा पाहुनालाई स्वागत, सत्कार र मौका मिलेको समयमा स्थानीय कला संस्कृतिसँगको साक्षात्कार। होमस्टेका लागि प्रख्यात रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकास्थित गाउँबस्तीका विशेषता हुन् यी। मगर संस्कृति, वेशभूषा र मनोरञ्जनले यहाँको आकर्षण झन् बढाएको छ। गाउँपालिकाको माथिल्लो भेगमा पर्यटक तथा अन्य व्यक्तिका लागि खानेबस्ने सुविधा भनेकै होमस्टे हो। १४ वटा वडा रहेको पुथाउत्तरगङ्गाको माथिल्लो भेग पेल्मा, मैकोट, हुकाम, रन्मा, बाच्छीगाउँ, तकलगायत गाउँमा होमस्टेको सुविधा रहेको छ। उक्त होमस्टे पर्यटकको रोजाइमा पर्दै गएपछि होमस्टे व्यवसाय फस्टाउँदै गएको छ।
गाउँमा सुविधासम्पन्न होटल नभए पनि परम्परागत शैलीको बसिबसाउ तथा खानपानको सुविधाका होमस्टे सञ्चालनमा रहेका पुथाउत्तरगङ्गा–१०, बाच्छीगाउँका एक होमस्टे सञ्चालक धनकुमारी बुढामगरले बताउनुभयो। उहाँले भन्नुभयो, “खानाको परिकारमा ढिँडो, रोटी, भात, रहेको छ। तरकारीको परिकारमा लोकल कुखुरा, भैँसी, खसीका मासु, सिस्नो, यसै गरी खाजामा भुटेको मकै, गहुँ, लट्टेलगायतका परिकार तयार गर्ने गरेका छौँ। मासुबिनाको प्रतिखाना दुई सय र जुनसुकै मासुसँगको खानामा तीन सय रुपियाँ लिने गरेका छौँ।” सोही गाउँमै अर्का होमस्टे सञ्चालन गरिरहनुभएका चयनसरी पुनमगरका अनुसार होमस्टे बाह्य पर्यटक र सङ्घ संस्थाका व्यक्तिको मुख्य रोजाइमा परिरहेको छ। जिल्लाबाहिरका व्यक्ति एवं विभिन्न सङ्घ संस्थाबाट होमस्टेमा धेरै जना आउने गरेको पुनमगरले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “दैनिक त पाहुना आउने गरेका छैनन् यद्यपि औसतमा हेर्दा दैनिक एक होमस्टेमा दुई तीन जना हुने गरेका छन्।”
यद्यपि व्यवस्थित होमस्टे सञ्चालन हुन सकेको छैन भने अर्कोतर्फ होमस्टे सेवाबारे प्रचारप्रचार नभएका कारण पाहुनाको सङ्ख्या उल्लेखनीय नरहेको उहाँको भनाइ छ। पहिलेभन्दा होमस्टेमा आउने पाहुनाको सङ्ख्या भने बढ्दो क्रममा रहेको पुनमगरले बताउनुभयो।
गाउँपालिकास्थित होमस्टेको सुविधालाई थप आकर्षक बनाउन गाउँपालिका लागिपरेको गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो। समय समयमा क्षमता वृद्धि तालिम दिइरहेको अध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो। पुथाउत्तरगङ्गा गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम तथा लेकाली क्षेत्रमा रहेको छ। यहाँका हरेक रहनसहन परम्परागत जनजीवन शैली कायमै रहेको छ।