• १४ मंसिर २०८१, शुक्रबार

‘बजेट राम्रो तर कार्यान्वयनमा चुनौती’

blog

सिराज खान 

नेपालगन्ज, जेठ १७ गते । आर्थिक वर्ष २०८०/८१ का लागि अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको बजेटप्रति बाँकेका उद्योगी व्यवसायीले सकारात्मक प्रतिक्रिया  दिँदै कार्यान्वयनमा चुनौती र शङ्का व्यक्त गरेका छन् । 

जिल्लाका अधिकांश उद्योगी व्यवसायीले आर्थिक सङ्कटको समयमा आएको यो बजेटले कागजमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरेको देखिए पनि कार्यान्वयन निकै चुनौतीपूर्ण रहेकाले कार्यान्वयनमा शङ्का व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले यो बजेट समग्र रूपमा आर्थिक अवस्था उकास्ने खालको देखिए पनि मुख्य कुरा कार्यान्वयन नै रहेको बताउनुभयो । उहाँले बजेटले निजी क्षेत्रलाई समेत समेट्ने प्रयास गरेको देखिए पनि आवश्यक राहत र योजना दिन नसकेको बताउनुभयो । 

सोही प्रकारले नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा स्थानीय व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बजेटले पर्यटन र पूर्वाधारमा राम्रो आशा जगाए पनि निजी क्षेत्रका लागि कुनै ठोस राहत ल्याउन नसकेको बताउनुभयो । 

उहाँले बाँके जिल्लामा सञ्चालनमा रहेका विभिन्न गौरवका योजनामा बजेट थप गर्नु सकारात्मक रहे पनि नयाँ कुनै योजना दिन नसक्नु कमजोरी भएको बताउनुभयो । 

व्यवसायी श्रेष्ठले यो बजेटले उद्योगी व्यवसायी मात्र नभई सबैलाई आशावादी बनाउन सफल भएको भए पनि कार्यान्वयन हुनेमा शङ्का रहेको बताउनुभयो । 

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले समग्रमा बजेटले धेरै आश्वासन देखाउने काम गरेको जनाउँदै हरेक वर्ष आश्वासन मात्रै बढी बाँडिने गरिएको तर व्यवहारमा लागु नहुने गरेको प्रतिक्रिया  दिनुभयो ।

उहाँले यो बजेटमा कम्पनी दर्ता र खारेजीलाई सहज बनाउन खोजिएको देखिए पनि खारेजीलाई धेरै झन्झटिलो बनाइएको बताउनुभयो । महासचिव ओलीले बजेटको कार्यान्वयनले मात्रै सफलता र असफलता पुष्टि हुने जनाउँदै धेरै कुरामा कार्यान्वयन शङ्कास्पद रहेको बताउनुभयो । 

नेपाल घरेलु तथा साना उद्योग सङ्घ बाँकेका महासचिव जिआर भुसालले बजेटको स्रोत व्यवस्थापन नै शङ्कास्पद रहेकाले सबै योजना तथा कार्यक्रम कार्यान्वयन नहुने देखिएको बताउनुभयो । 

उहाँले अहिलेको वर्तमान अवस्थालाई हेर्दा बजेटमा प्रस्तुत गरिएका स्रोत व्यवस्थापन नै सबैभन्दा ठुलो चुनौती देखिएकाले परिणामबारे केही आकलन गर्न नसकिने अवस्था रहेको बताउनुभयो । 

यस्तै अर्का स्थानीय व्यवसायी अगुवा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले यो बजेटले देशको आर्थिक अवस्थामा सुधार ल्याउने कुनै पनि सङ्केत नदेखिएको टिप्पणी गर्नुभयो ।