• १६ चैत २०८०, शुक्रबार

प्रधानमन्त्री आज भारत जानुहुँदै

blog

काठमाडौँ, जेठ १७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चारदिने औपचारिक भारत भ्रमण बुधबारदेखि हुँदै छ। प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल भारत जाने तय भएको छ। 

प्रधानमन्त्रीको भारत भ्रमणबारे मङ्गलबार मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्मा प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल अघि बढाउने विषयमा कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट आएपछि बजेटमाथि छलफल गर्ने भन्ने सन्दर्भमा कुरा भएको हो।”

यसैबिच परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा  द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग छलफल हुने जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा साउदले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायतका कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो। 

परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गबारे पनि छलफल हुने बताउनुभयो। उहाँले कार्यान्वयन गर्न सकिने सम्झौताका विषयमा छलफल र हस्ताक्षर हुने प्रस्ट पार्नुभयो। हवाई ट्रान्जिट र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सवालमा उठेका विषयप्रति दुई देशका सरकार प्रमुखले छलफल गरेर टुङ्गो लगाउने नेपालको तयारी रहेको छ। भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँग रहेका केही असमझदारीलाई यो भ्रमणले हटाउने सम्भावना प्रवल रहेको मन्त्री साउदले प्रस्ट्याउनुभयो। 

भ्रमणको सबै तयारी पूरा भएको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। केही प्रक्रियागत  विषयमा गृहकार्य जारी रहे पनि त्यो विषय जाने बेलासम्म सकिने उहाँले बताउनुभयो। प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १:२५ बजे प्रस्थान गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारत प्रस्थान गर्नुपूर्व प्रधानमन्त्री दाहालले विमानस्थलमा पत्रकारसँग कुरा गर्नुहुने छ। 

सम्भावित विकास साझेदारीका सम्झौता र प्रस्तावित विषयमा कुरा गर्न सरकारी उच्चाधिकारीको टोली प्रधानमन्त्रीसँग रहने छ। त्यसबाहेक नेपाली उद्योगी व्यवसायीको ठुलो समूह पनि प्रधानमन्त्रीसँगै भारत जाने तयारीमा रहेको छ। उद्योगी व्यवसायीसँगै एक दजर्नभन्दा बढी सम्पादक/पत्रकारको समूह पनि भारत जाने तयारी छ। 

भ्रमणको दोस्रो दिन बिहीबार जेठ १८ गते प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीबिच हैदरावाद हाउसमा उच्चस्तरीय भेटवार्ता हुनेछ। यीलगायतका विषयमा दिल्लीस्थित नेपाली दूतावासले अन्तिम तयारी गरिरहेको छ। दुई देशका प्रधानमन्त्रीको भेटवार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सोही अवसरमा दुई देशबिच हुने सहमति र सम्झौता तथा आगामी दिनमा हुने सहकार्यका दस्ताबेजमा दुई देशका सरोकारवाला उच्चाधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम  रहेको छ। प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनखडसँग भेटवार्ता गर्नुहुने छ। 

त्यस्तै प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने छ। त्यस्तै भारतस्थित नेपाली समुदायसँग पनि छुट्टै छलफल गर्नुहुने कार्यतालिका छ। स्वदेश फर्कने दिन उहाँले भारतका केही पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्नुहुने छ। जेठ २० गते साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्कनुहुने कार्यक्रम  रहेको छ। 

प्रधानमन्त्रीका रूपमा दाहालको यो चौथो भ्रमण हो। यसअघि २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुनुहुँदा पहिलो औपचारिक भारत भ्रमण गर्नुभएको थियो। दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री हुनुभएपछि भारत भ्रमणमा जानुभएको थियो। औपचारिक भ्रमणको एक महिना नबित्दै सोही वर्ष भारतमा आयोजित ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत जानुभएको थियो।