• १३ वैशाख २०८१, बिहिबार

कोशी प्रदेश नामकरणको विरोध : सडकमा आन्दोलन, संसद्मा बहस

blog

नवराज कट्टेल

विराटनगर, जेठ १५ गते ।  कोशी प्रदेश नामकरण अस्वीकार गर्दै संशोधन गरेर पहिचान समेट्न माग राख्दै आन्दोलनरत पक्षले आइतबार विराटनगरमा प्रदर्शन गरेको छ। फागुन १७ गते कोशी प्रदेश नामकरणपछि पहिलो प्रदेश सभा बैठक बस्ने दिनलाई लक्ष्य गरेर भएको आन्दोलनमा पहिचान पक्षधर र प्रहरीबिच भएको झडपमा ४६ जना घाइते भएका छन्। 

स्थानीय प्रशासनले विराटनगरका चार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। तीमध्ये प्रदेश सभा आसपासको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा  प्रहरीसँग झडप भएको हो। आन्दोलनका क्रममा   स्वास्थ्य मन्त्रालयमा समेत तोडफोड भएको छ। भिड नियन्त्रणमा लिन प्रहरीले ३८ राउन्ड हवाई फायर र ७४ सेल अश्रुग्यास प्रहार गरेको मोरङ प्रहरीका प्रमुख दीपक पोखरेलले जानकारी दिनुभयो। झडपमा ३० प्रहरी घाइते भएका उहाँले बताउनुभयो।

प्रदेशको नामकरण संसद्मा उपस्थित ठूला राजनीतिक दलको समर्थनबाट भएको थियो। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले समर्थन गरेर नामकरण गरेपछि संसद्को बैठक आइतबार सुरु भएको हो। बजेट अधिवेशन सुरु भएकै दिन नामकरणको विषय भने संसद्मा समेत प्रवेश गरेको छ। आइतबारको बैठकमा आन्दोलनरत पक्षसँग सरकारले वार्ता गर्नुपर्ने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले जोड दिएको हो।