• १५ वैशाख २०८१, शनिबार

लम्पीस्किन रोगबाट ६० बढी गाईगोरु मरे

blog

फाइल तस्बिर

राजकुमार भट्टराई  

खोटाङ, जेठ १४ गते । खोटाङमा लम्पीस्किन रोगको महामारी नियन्त्रण बाहिर गएको छ । जिल्लाका १० वटै पालिकामा देखापरेको लम्पीस्किन रोगले हालसम्म ६० बढी गाईगोरुको मृत्यु भएको हो ।

सबैभन्दा धेरै जन्तेढुंगाका गाईगोरु मरेका छन् । जन्तेढुंगा गाउँपालिका –१ देबिस्थानमा ७, बोपुङमा १२, काहुलेमा ५, डम्बर्खुशिवालयमा ४, चिसापानीमा २ गाईगोरु मरेको पशुशाखा संयोजक डा. शुसन ढकालले जानकारी दिनुभयो । जन्तेढुंगा गाउँपालिका –६ दिप्लुङमा मरेका गाईगोरुको तथ्याङ्क आएको छैन । 

यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा हालसम्म करिब २८ गाईगोरु लम्पीस्किन रोगका कारण मृत्यु भएको छ । वडा नम्बर ११ राजापानीमा रणबहादुर श्रेष्ठ, कुम्ब नारायण श्रेष्ठ, मोतीलाल श्रेष्ठ, कृष्णबहादुर कार्की, विदुर कार्की, हस्तबहादुर कार्कीलगायतको गरी करिब १५ वटा मरेको वडाध्यक्ष अनीश कार्कीले बताउनुभयो । हस्तबहादुरको एउटा गोरु केही दिन अगाडि मात्रै मरेको उहाँको भनाइ छ ।  

हलेसी तुवाचुङकै वडा ५ दुर्छिममा करिब १३ वटा गाईगोरु मरेका छन् । शुक्रबार मात्रै दुर्छिम गणेसटारका नवीन राईको गोरु मरेको छ । राईकै अर्को गोरु केही दिनअघि लम्पीस्किन रोगले मरिसकेको छ । दुर्छिम रातमाटेका चलनसिंह राईको एउटा गोरु गत वैशाखमा जोत्दाजोत्दै मरेको स्थानीय राजन राईले बताउनुभयो ।  

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा ५ वटा गाईगोरु मरेका छन् । एउटै वडामा लगातार गाईगोरु मर्न थालेपछि नगरपालिकाको प्राविधिकसँगै वडाले छुट्टै एक जना पशु सेवा प्राविधिकको पनि व्यवस्था गरेर उपचार गरिरहेको वडाध्यक्ष रामबहादुर कट्वालले बताउनुभयो । रावा बेसी  गाउँपालिका–२ खार्पामा पनि एउटा गाईको बाछो मरेको पालिकाका पशु सेवा प्राविधिक नीरज रावले बताउनुभयो । 

अन्य पालिका केपिलासगढी, खोटेहाङ, बराहपोखरी, ऐसेलुखर्क, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अधिकांश ठाउँका गाईगोरुमा लम्पीस्किन रोग देखापरेको छ । जिल्लाका १० वटै स्थानीय तहका सबै वडामा लम्पी स्किन रोग महामारीको रूपमा फैलिएको छ । पालिकाहरूले रोग नियन्त्रणका लागि पशु सेवा प्राविधिकलाई खटाइरहेको बताए पनि गाईगोरु मर्ने प्रक्रिया जारी रहेको छ । 

भारतबाट २०७७ मा मोरङ हुँदै नेपाल छिरेको लम्पीस्किन रोग हाल देशका ३० बढी जिल्लामा फैलिएको बताइएको छ । विशेषगरी यो रोग ठूला पशुचौपाया गाई, गोरु, भैँसी, राँगोमा देखा पर्ने विज्ञहरूको भनाइ छ । खोटाङमा भने गाईगोरुमा मात्र देखापरेको छ । अधिकांश गाईगोरुमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठागुठी देखिने, गाँठागुठीबाट पानी बग्ने र पाक्नेलगायतका लक्षण देखिएपछि कृषकहरू चिन्तित बनेका छन् । 

जिल्लाका अधिकांश पालिकाका पशु सेवा प्राविधिकहरूले लक्षणका आधारमा सःशुल्क औषधि दिंदैआएका छन् । लम्पीस्किन रोग लामखुट्टे, भुसुना, झिँगा आदिको टोकाईबाट सर्ने विज्ञहरू बताउँछन् ।