• ८ वैशाख २०८१, शनिबार

नाटकघरमा ‘त्रयम्’, ‘बुद्ध र भिखारी’

blog

काठमाडौँ, जेठ १३ गते । काठमाडौँको एउटा घरको फ्ल्याटमा तीन युवती भाडामा बस्छन् । एक अर्कासँग पटक्कै नमिल्ने स्वभावका उनीहरूसँग नजिक हुने धेरै कुरा छैनन् तर पनि सँगै बस्न बाध्य छन् । आफ्नो रुचि र स्वभावलाई मात्र प्राथमिकता दिने उनीहरूको जीवनमा यस्तो घटना आउँछ जसले उनीहरूको एक अर्काप्रतिको बुझाइलाई छिन्नभिन्न पार्छ । योसँगै उनीहरूको विगत किताबको पाना झैँ पल्टिँदै जान्छन्; जसबाट उनीहरू जे देखिन्छन् त्यो नभएको यथार्थ खुल्छ । एक दिनको घटनाले उनीहरूको वर्षौंदेखिको कथा बताउँछ । 

यो कथासार हो, कौशी थिएटरमा शुक्रबार मञ्चन भएको नाटक ‘त्रयम्’ को । तीन युवतीको विगत कोट्याउँदै नाटकले महिलाले दैनिक जीवनमा भोग्ने हिंसालाई जीवन्त पारामा प्रस्तुत गर्दै छ । दिलीप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक थिएटर भिलेजले निर्माण गरेको हो । थिएटर भिलेजले हालसालै ‘पल्पसा क्याफे’ र ‘दी कन्फेसन’ जस्ता नाटक निर्माण गरेको थियो । 

निर्देशक रानाभाट यो नाटक एक वर्षपहिला किङ्स कलेजमा पढाउने सिलसिलामा तयार गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यो विषय लामो समयदेखि बोकिरहेको थिएँ । एक वर्षपहिला किङ्स कलेजमा थिएटर पढाउँदा यसलाई थोरै विकास पनि गरेको थिएँ तर त्यो दर्शकसम्म पुगेको थिएन । यस पल्ट मौका जुट्दै छ । यहाँ उठिरहेका विषय धेरै महिलाले भोगेका विषय हुन् । कतिपय महिलाले मलाई सुनाएका छन् । कतिले नभनी पनि मैले बुझेको छु । यो नाटकले धेरैको मौनता तोड्न प्रेरित गर्छ ।”

तीन नारी पात्रको वरिपरि घुम्ने नाटकमा सङ्गीता थापा, रक्षा थापा र पूर्णिमा आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको छ । उनीहरूलाई श्रवण रानामगर र नाथन रायन भण्डारीले साथ दिने छन् । नाटक २८ गतेसम्म मञ्चन हुने छ । रानाभाटकै परिकल्पनामा तयार भइरहेको नाटक निर्माणमा पर्दापछाडि रहेर आयुष्मा खरेलले सघाउनुभएको छ ।

त्यसै गरी थापागाउँस्थित मण्डला नाटकघरमा जेठ १६ देखि ३२ सम्म नाटक ‘बुद्ध र भिखारी’ मञ्चन हुने भएको छ । चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटक चेतन आङ्थुपोले नाट्य रूपान्तरण तथा अनुवाद गर्नुभएको हो । यसको परिकल्पना तथा निर्देशन अनिल सुब्बाले गर्नुभएको छ ।

नेपाली पौराणिक लोककथालाई नाट्य रूपान्तरण गरी ‘स्याडो प्ले’ मार्फत मञ्चन गरिने निर्देशक सुब्बा बताउनुहुन्छ । त्यसो त नेपाली रङ्गमञ्चमा यस प्रकारको प्रयोग कमै मात्रामा भएको पाइन्छ । 

आफ्नो झुपडीमा मुसाहरूले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ खोज्दै बुद्ध खोज्न निस्किएको भिखारीले यात्राभरि गरेको सङ्घर्ष र रमाइलो पललाई नाटकमा देख्न सकिन्छ ।

नाटकमा वेदना राई, प्रतिना राई, रमिता राई, रूपेश लामा, गणेश ताण्डव, नवीनचन्द्र अर्याल, सुनील तामाङलगायतको अभियन छ ।