• १५ चैत २०८०, बिहिबार

उत्तरपुस्तिकाको प्राप्ताङ्क फेर्नेविरुद्ध पुनरावेदन

blog

काठमाडौँ, जेठ १३ गते । विशेष अदालतको फैसलाबाट निर्दोष साबित भएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका पूर्वअध्यक्षसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले उनीहरूविरुद्ध उत्तरपुस्तिका साटफेर प्रकरणमा दोषी दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

शुक्रबार  आयोगले प्रतिवादी दाबी गर्दै पुनरावेदन दिएकामा त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष चैतन्य शर्मा, आयोगका पूर्वसदस्य चिन्तामणि पोखरेल, विश्वविद्यालयका प्राध्यापकद्वय टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा रामबहादुर पाण्डे, आयोगका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे र आयोगका कर्मचारी इन्दिरा तिवारी छन् । 

त्रिवि सेवा आयोगले खुला प्रतिस्पर्धाबाट कर्मचारी छनोटका लागि लिएको परीक्षामा परीक्षाफलको परिणाम फेरबदल गरेर भ्रष्टाचार गरेको आयोगको दाबी थियो । विशेष अदालतले गत असोज ४ गते उनीहरूलाई सफाइ दिएको थियो । उनीहरूविरुद्ध पुनरावेदन दिँदै आयोगले ११ वटा आधार पेस गरेको छ । आयोगले शुक्रबार  विशेष अदालतको अर्को फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । आयोगले घुस तथा रिसवतसम्बन्धी मुद्दाका प्रतिवादी शिवचन्द्र केवट सहनी, अविनाश कुँवरविरुद्ध पुनरावेदन दिएको हो ।

यसैबीच आयोगले जनकपुरधाम उपमहानगरपालिका–११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा दर्ता कायम गर्ने सरजमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस लिएको अवस्थामा आयोगको टोलीले उहाँहरूलाई पक्राउ  गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिबासबाट खटिइगएको टोलीले उनीहरूलाई ५० हजारु रुपियाँ घुस लिएको अवस्थामा पक्राउ  गरेको थियो ।