• १५ असोज २०८१, मङ्गलबार

हुरीले उडायो पाल बगरको बस्तीमा बेहाल

blog

बुलबुले समाचारदाता 

सुर्खेत, जेठ ११ गते । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ का बाढीपीडितको बस्ती सोमबार साँझको हुरीले उजाडिएको छ। भदौ ३१ गते पहिरोसहित बाढी बस्तीमा पसेपछि चौरमा पाल टाँगेर बस्दै आएका बाढीपीडितको टहरा उडाएपछि उनीहरू समस्यामा छन्।

साँझ करिब ९ बजेपछि आएको हुरीसँगैको वर्षाले त्रिपाल उडाएको हो। बाढीपीडित टेकबहादुर विकले हुरीले त्रिपालसहित सबै तहसनहस पारेको बताउनुभयो। उहाँले भन्नुभयो, “खाद्यान्नसमेत भिज्यो। रातभर भागदौड भयो। हावाहुरी र पानीले पाकेको खाना पनि खान पाएनौँ, ओभानो खाना पकाउने ठाउँ छैन। दाउरासमेत छैन। आफन्तको घरमा आश्रय लिइरहेका छौँ।” महिनौँदेखि त्रिपालमुनि बसिरहँदा समेत सरकारले समस्या सम्बोधन नगरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “अब त कसरी बाँच्ने भन्ने पीर छ। गाँस, बासको कुनै टुङ्गो छैन। बालबच्चा कसरी पाल्ने ?”

उहाँले भन्नुभयो, “घर बाढीले बगायो, त्रिपाल हावाले उडायो। जाने ठाउँ छैन, अब के गर्ने ?”

चौकुने गाउँपालिकामा सोमबार साँझको हावाहुरीसहितको वर्षाले दुई सय घरधुरी र सात वटा विद्यालयमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिनुभयो। उहाँका अनुसार यो प्रारम्भिक जानकारी हो। घरका छाना उडाएको छ। कुनै घरमा पूर्ण रूपमा क्षति पुगेको छ। गाउँपालिकाका १० वटै वडामा क्षति पुगेको उहाँले बताउनुभयो। 

उहाँका अनुसार क्षतिको विवरण सङ्कलनको काम भइरहेको छ। विपत्मा परेकाको राहत र सहयोगमा स्थानीय सरकार पूरै परिचालन गरिएको गाउँपालिकाले जनाएको छ। स्थानीय सरकारले मात्र समस्या समाधान गर्न नसक्ने भन्दै उहाँले सङ्घ र प्रदेशले सहयोग नगरेसम्म बाढीपीडितको पुनस्र्थापना सम्भव नहुने उहाँले बताउनुभयो।

कर्णालीमा प्राकृतिक विपत्तिबाट ठुलो धनजनको क्षति हुने गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार वैशाख महिनामा मात्र प्राकृतिक विपत्तिबाट तीन जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। वैशाखमा मात्र २४ वटा विपत्का घटना भएका थिए। १० घरमा क्षति पुगेको छ भने प्रकोपमा परी तीन पशुचौपाया मरेका थिए। जेठ महिनाको यो अवधिसम्म सात वटा विपत्तिका घटना भएका छन्। जसमा परी सात पशुचौपाया मरेका छन् भने दुई वटा घरमा क्षति पुगेको छ।