• ११ मंसिर २०८१, मङ्गलबार

अन्तर प्रदेशको भाडादर घट्दा किन घटेन उपत्यकाको यातायात भाडादर

blog

काठमाडौं, जेठ १० गते । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्तर प्रदेश चल्ने भाडादर घटायो । 

गत साता डिजेलमा प्रतिलिटर १० रुपियाँ घटेसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने यातायातको भाडादर ३.२ प्रतिशतले घटाएको हो ।

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६५ रुपियाँबाट १५५ रुपियाँमा झरेको छ । मूल्य घटेसँगै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीसाधनमा ४.६५ प्रतिशत भाडादर घटेको छ । 

यातायात व्यवस्था विभागले भाडादर घटाएपनि काठमाडौं उपत्यकामै चल्ने यातायातमा भने भाडादर घटेको छैन । प्रदेश सरकारले अहिलेसम्म नयाँ भाडादर कायम गरेको छैन ।

प्रदेश भित्रको भाडादर प्रदेशले नै घटाउन सक्ने संवैधानिक व्यवस्था भएकाले यातायात व्यवस्था विभागले कायम गर्न नमिल्ने यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशले पनि भाडादर तत्काल नै घटाउनुपर्ने हुन्छ । भाडादर स्वचालित मूल्य प्रणालीमा कायम हुने व्यवस्था भएकाले भाडादर घट्नुपर्ने उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “अहिले भाडादर स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यसकारण पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत घटेपछि स्वतः रूपमा भाडादर घटाउनुपर्छ ।”

मन्त्रालय भन्छ : आज सार्वजनिक गर्छौ
श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशले प्रदेश भित्र सञ्चालन हुने यातायातको नयाँ भाडादर आज (बुधबार) सार्वजनिक गर्ने जनाएको छ । यसअघि गत शुक्रबार नै सार्वजनिक गर्ने प्रतिक्रिया दिएको मन्त्रालयले गृहकार्य नपुगेको भन्दै बुधबार सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्रालयका उपसचिव शङ्करराज पाठकका अनुसार भाडादरको विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको छ । भाडादर वैज्ञानिक आधारमा तय गर्न लागिएकाले केही समय लागेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बागमती प्रदेशको भाडादर घटाउनका लागि मन्त्रालयमा गृहकार्य चलिरहेको छ । भाडादरलाई वैज्ञानिक बनाऊँ भन्ने उद्देश्यले सार्वजनिक गर्न समय मात्र लागेको हो ।”

अहिले भाडादरको खाका तयार भइसकेर कानुन मन्त्रालयमा पठाइएको र मन्त्रालयबाट राजपत्रमा प्रकाशित भएलगत्तै लागू हुने उहाँको भनाइ छ ।

चानचुन रकमको समस्या नहुने
पहिले भाडादर समायोजन गर्दा एक/दुई रुपियाँ सधैँ बढी तिर्नु पर्ने भन्दै नागरिकस्तरबाट गुनासो आउने गरेको थियो ।

१७ रुपियाँ भाडा रहेको अवस्थामा यात्रुसँग सहचालकले २० रुपियाँ लिने गरेका थिए । यस्तै २८ रुपियाँ कायम रहेको ठाउँमा ३० रुपियाँ तिर्नुपरेको थियो ।

सहचालकले चानचुन रकम नभएको भन्दै बढी रकम लिँदा यात्रुहरू ठगिने गरेका थिए । 

अहिले नयाँ भाडादर तय गर्दा त्यस कुरालाई पनि मध्यनजर गर्ने प्रयासमा लागेको उपसचिव पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेको भाडादरमा यात्रुहरू ठगिएको भन्ने धेरै गुनासो आएको थियो । अहिले उक्त गुनासो नआओस् भनेर लागिपरेका छौँ ।”

यातायात व्यवस्था विभागले घटाएको भाडादरलाई आधार बनाएर नयाँ भाडादर कायम गर्न लागिएको उहाँको भनाइ छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।