रमेश विश्वकर्मा
गुल्मी, जेठ १० गते । गुल्मी अस्पताललाई रेसुङ्गा नगरपालिकाले सी–आर्म मेसिन हस्तान्तरण गरेको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले गुल्मी अस्पताल विकास समितिका अध्यक्ष गोपाल पाण्डेयलाई २८ लाख रुपियाँ बढी लागतको हाडजोर्नीको शल्यक्रियाका लागि आवश्यक पर्ने सी–आर्म मेसिन हस्तान्तरण गर्नुभएको हो ।
सी–आर्म मेसिन हस्तान्तरण गर्नुहुँदै नगरप्रमुख पन्थीले भन्नुभयो, ‘‘सी–आर्म मेसिन हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ । अब नगरवासी, जिल्लावासीले मात्र होइन, छिमेकी जिल्लाका नागरिकहरूले पनि विशेषज्ञ सेवा लिन सक्नुहुनेछ ।’’ स्वास्थ्य क्षेत्रमा निकै फड्को मार्ने गरी काम अगाडी बढाएको नगरप्रमुख पन्थीको भनाइ छ ।
छोटो समयको अवधिमा नगरपालिकाभित्रका सबै वडाका नागरिकहरूको निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गर्नेदेखि गुल्मी अस्पतालमा विशेषज्ञ सेवा सञ्चालन गर्ने लगायतका महत्त्वपूर्ण कार्यहरू गरिएको उहाँले बताउनुभयो ।
गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डा.प्रदीप शिवाकोटीले यो उपकरण आइसकेपछि थप सेवा सुविधा बढ्ने बताउनुभयो । ‘‘हड्डीको अप्रेसन सी–आर्म मेसिन भएर मात्रै गर्न सकिन्छ । जुन अहिलेसम्म मेसिन नहुँदा गर्न सकिएको थिएनन् ।,’’ उहाँले भन्नुभयो, ‘‘सामान्य अप्रेसन मात्रै भइरहेको थियो । कतिपय जिल्लामै अप्रेसन गर्न सकिने हाडजोर्नीका बिरामीलाई बाहिर पठाउनुपर्थ्यो । अब भने सी–आर्म उपकरणको सहायताले यही हुनेछ ।’’
केही समयअघि मात्रै रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पताललाई प्राप्त ६५ लाख ३६ हजार ४६६ रुपियाँका पाँच वटा डायलिसिस मेसिन हस्तान्तरण गरेको थियो ।
यसअघि रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा अर्थोपेडिक सेवा, गाइनोको विशेषज्ञ सेवा सञ्चालन भइरहेको छ । सी–आर्म मेसिन हस्तान्तरण कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेविक कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, गुल्मी अस्पतालका प्रमुख डा.राजेन्द्र जिसी पत्रकार लगायतको सहभागिता रहेको थियो ।