• २७ पुस २०८१, शनिबार

थोरै राजस्व बुझाउँछन् क्रसर उद्योग

blog

नमराज सुवेदी

नुवाकोट, जेठ ७ गते ।  अवैध रूपमा सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला लगाएका व्रmसर उद्योगमध्ये धेरैजसो अहिले सञ्चालन भइरहेका छन्। गत पुस २० गतको गृह मन्त्रालयको निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर  उद्योग अहिले सञ्चालन भएका हुन्। 

नुवाकोट जिल्लामा सञ्चालित ४८ वटा क्रसर   तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ वटा सञ्चालनमा आएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो। 

गत माघ १५ गते गृह मन्त्रालयको परिपत्रअनुसार दर्ता भएर सञ्चालनमा रहेका तथा राजस्व बुझाएको कागजातको आधारमा बन्द गरिएको क्रसर  उद्योग पुनः सञ्चालनमा ल्याइएको हो। 

गृह मन्त्रालयको गत पुसको निर्णय अनुसार ‘दर्ता भएका तर नवीकरण नभएका’ क्रसर   उद्योग बन्द गर्ने निर्णयपछि नुवाकोटका सबै क्रसर   उद्योग बन्द भएका थिए तर गत माघ १५ गतेको परिपत्रले नवीकरण नभए पनि दर्ता भएका र राजस्व बुझाएका उद्योगलाई सञ्चालन गर्न दिने निर्णयले नुवाकोटका अधिकांश उद्योग पुनः सञ्चालनमा आएका हुन्। 

ती उद्योगले जिल्ला प्रशासन कार्यालयमा बुझाएको कागजात अनुसार दर्ता भए पनि अधिकांशको धेरै वर्षदेखि नवीकरण नभएको र रावस्व पनि निकै कम बुझाएको पाइएको छ। 

४८ मध्ये तीन क्रसर  उद्योगले आवश्यक कागजात बुझाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सञ्चालनमा आएकामध्ये ४० वटा व्यावसायिक प्रयोजन र पाँच वटा विकास निर्माणका आयोजनाको प्रयोजनका लागि स्थापना भएको देखिन्छ। केहीले वार्षिक कारोबार एक लाख रुपियाँभन्दा बढी देखाएर राजस्व बुझाए पनि अधिकांशले त्योभन्दा कम कारोबार देखाएर कम राजस्व बुझाएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो तर यी क्रसर  उद्योगको दर्तामा करोडौँ रुपियाँको कारोबार गर्ने उल्लेख गरिएको छ। 

प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “अस्वाभाविक रूपमा कम कारोबार देखाएर राजस्व कम दाखिला गरेको सम्बन्धमा छानबिन हुने छ।”