• ७ पुस २०८१, आइतबार

समृद्धि र सुशासनको बाटो चुनौतीपूर्ण : प्रधानमन्त्री प्रचण्ड

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्बाेधन गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीकाे निजी सचिवालय

काठमाडौँ, जेठ ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि र सुशासनको बाटो चुनौतीपूर्ण भएको बताउनुभएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको शनिबार भएको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

‘‘नयाँ अभियान, नयाँ आन्दोलन र नयाँ प्रक्रिया सुरु गरेका छौँ, चुनौतीपूर्ण भए पनि सोही दिशामा सरकार र पार्टी दृढ भएर लागेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘तीन दलको बैठक बस्दा नक्कली भुटानी शरणार्थीबारे बस्न नभएर आन्दोलनले ल्याएका उपलब्धिलाई संस्थागत गर्न परिवर्तनलाई आत्मसाथ गर्नको लागि बसेका छौँ ।’’

उहाँले भन्नुभयाे ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिस भइरहेको धेरथोर महसुस हामी सबैले गरेका छौं । हामी तीन पार्टी त्यसरी बस्नुको तात्पर्य १२ बुँदे सहमति हुँदै गणतन्त्रसम्म एक साथ उभिएका प्रमुख शक्ति परिवर्तनको रक्षाका निम्ति पनि एक ठाउँमा उभिनुपर्छ भनेर हो ।’’ 


प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा दोषी कोही पनि नछुटोस् र कोही पनि निर्दाेष व्यक्ति नपरुन् भन्ने सरकारको योजना रहेको बताउनुभयो ।

उहाँले गणतन्त्र आएपछि विकास र समृद्धिसहित शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा व्यापक राम्रो भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको पालामा सबैभन्दा राम्रो भए पनि राजतन्त्रमा जतिको काम भएन भनेर एकथरी शक्तिले जनतालाई भ्रमित तुल्याउन प्रयत्न गरिरहेकोप्रति चनाखो हुन सबैमा अपिल गर्नुभयो ।

शरणार्थी प्रकरणका सन्दर्भमा भने प्रहरी अनुसन्धानलाई सघाउनेमा कसैको विमती नरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेकाे छ ।

उहाँले भष्टाचारकाे अभियानमा सरकार लागेका कारण जनतामा उत्साह थपेकाे बताउनुहुँदै यस अभियान सफल पार्ने बताउनुभयाे ।

उहाँले मजदुरले उठाएका विभिन्न मागहरूप्रति सरकार सकारात्मक रहेकाे बताउनुहुँदै सम्बाेधन गर्ने बताउनुभयाे ।