• १० मंसिर २०८१, सोमबार

स्वदेश (कविता)

blog

हृदयको अँगेनाभरि

बलिरहेछ

चाहनाको आगो

उठिरहेछ

वेदनाको मुस्लो

र चलिरहेछ

चिन्ताको हुरी ।


हवाइजहाजमा

उडेर अगाडि बढिरहँदा

पछाडि छुटिरहेछन्

घरपरिवार र प्रियजनहरू

सहत्व र अपनत्वका सम्बन्धहरू

टाढिइरहेछ स्वदेश

र चस्किरहेछ मुटु ।


हो, स्वदेश मुटु

र राष्ट्रियता धड्कन हो

धड्किरहन्छ सधैँभरि

सभ्यता गौरव

र संस्कृति सौरभ हो

मगमगाइरहन्छ सधैँभरि

स्वाभिमान हिमाल

र आस्था उचाइ हो

अग्लिरहन्छ सधैँभरि ।