• १० मंसिर २०८१, सोमबार

रङ्गमञ्चमा ‘मृत्यु कुण्ड’ र ‘चे इज ब्याक’

blog

आफ्नो देश छाडेर कसैलाई पनि विदेशिने रहर हुँदैन तर नाटक ‘मृत्यु कुण्ड’ आफ्नै देशमा बसेर काम गर्ने सपनालाई चकनाचुर पारेर विदेश पलायन हुने युवाको कथा हो । काठमाडौँबाट उड्न लागेको जहाजभित्र विमान परिचारिकाले त्यहाँभित्रका नियम उद्घोष गरेसँगै विमानले उडान भर्न थाल्छ । विमानमा रहेका नेपाली युवा वैदेशिक रोजगारीमा जाँदै छन् । साथै कोही पढ्नका लागि अस्ट्रेलिया जाँदै छन् । यसरी विदेशिनु युवाका आ–आफ्नै कारण र बाध्यता छन् ।

हाम्रो सबैभन्दा ठुलो समस्या भनेकै विदेश गएपछि बोटमा पैसा फल्छ भन्ने सोच हो । यसमा पनि सुदूर गाउँघरका विपन्न र सीमान्तकृत समुदायका युवा बढी जसो विदेश गएको हामीले पाउने गरेका छौँ । स्वदेशमै केही गर्ने चाहना त छ तर एक त काम नपाइने अर्को आर्थिक अवस्था पनि आफूले सोचे जस्तो नहुने । त्यसैले युवा विदेश जान बाध्य छन् । यिनै कुराको सेरोफेरोमा नाटक रुमलिएको छ । नाटकभित्र सुदूरपश्चिमदेखि मधेशसम्मका समुदायका विषय छन् ।

हीरा (राजु खतिवडा) जोसँग आफ्नै देशमा बसेर आफ्नै गाउँघरका लागि केही गर्ने सोच छ तर उहाँको यो सोच अधुरै रहन्छ । जब उहाँको बुवा एक दिन अचानक भिरबाट लड्नुहुन्छ, त्यसपछि उहाँको दुःख सुरु हुन्छ । बुवाको उपचारका लागि कहीँ कतैबाट केही गर्न नसकेपछि अन्ततः उहाँ पनि विदेश जाने सोच बनाउनुहुन्छ र बुवासँग आफ्नै भाषामा भन्नुहुन्छ, “बा म विदेश जान्या हुँ । टन्न पैसा कमाउन्या हुँ । तमी चिन्ता नगर । तमीलाई पहिलेजस्तै ठमठम हिँड्ने र सिलाजित टिप्ने बनाउने गरी निको बनाउन्या हो । आस नमार तमीलाई म यो संसारकै सुखी बा बनाउन्या हो ।”  त्यस्तै नाटकमा विभिन्न युवक–युवतीका अनेकन् कथा मिसिएका छन् । नाटकभित्र मधेशको कथा पनि छ । रामभजन (वीरेन्द्रसिंह कुशवाह) चाडपर्वको समय आफूले नचाहँदा नचाहँदै छठ पर्वका बेला आफ्नी गर्भवती श्रमितीलाई विदेशिने निर्णय सुनाउँछन् । उनी विदेशिनुका कारण गाउँमा नयाँ घर खडा गर्नु र यस धर्तीमा नयाँ आउने बच्चाको सुन्दर भविष्य निर्माण गर्नु रहेको छ । 

हीरा र रामभजन त आफ्नै देशमा केही गर्ने सोच हुँदाहुँदै विदेशिन बाध्य केही उदाहरण मात्र हुन् । नाटकमा यस्ता अनेकन् पात्र छन्; जो आफ्नै देशमा बसेर केही गर्ने चाह त राख्छन् तर उनीहरूले देशमा निराशाबाहेक केही पाउँदैनन् । नाटकमा प्रजा (अजय बान्तावा राई), अनिता (सानुमाया तामाङ), ठगबहादुर (ओसन कार्की), आकाश (हेमन्त, लामिछाने), सुजित (विशाल महर्जन), उर्मिला (एलिसा न्यौपाने), सतिस (शिशिर) को नाटकमा आ–आफ्नै कथा छ । 

देशमा भएको बेथिति, भ्रष्टाचार हुँदा देश कुन भड्खालोतिर धकेलिरहेको छ भन्ने कुरा नाटक ‘मृत्यु कुण्ड’ले उजागर गर्न खोजेको छ । नाटकका निर्देशक रविन दोङले नाटकभित्र सबै पात्रलाई उनीहरूको सुहाउने भूमिकामा सजिलै ढाल्न सक्नुभएको छ । सबै कलाकारले आ–आफ्नो अभिनयमा न्याय गर्नुभएको छ ।

नाटकमा हाँसो र रोदन मिश्रित छ । प्रवृत्ति राई, शुव्रmराज मगर, अनिल गुरुङ र साथीहरूको वाद्यवादन र गायनले नाटकलाई अझ माथि उठाउने काम गरेको छ । उहाँहरूले दिनुभएको सङ्गीतले नाटकलाई अझै मार्मिक बनाउँछ । नाटकभित्र युवाको समस्या मात्र देखाउन खोजिएको छैन, यहाँ आफ्नै देशमा रगत–पसिना बगाउन खोज्ने ऊर्जाशील युवा किन विदेश जान बाध्य हुन्छन् भन्ने कुरा प्रस्ट्याउन खोजिएको छ । समग्रमा नाटक राम्रो बनेको छ । 

पत्रकारको दुःख लुकेको कथा

रङ्गमञ्च मनोरञ्जन मात्र होइन, विचार र दर्शन पोख्ने माध्यम पनि हो । तसर्थ विचारको पनि व्रmान्ति गर्न सकिन्छ भन्ने हेतुले तयार पारिएको नाटक होे– ‘चे इज ब्याक ।’ भोलिको समय के, कस्तो हुनु पर्छ ? यहाँका माटो, मानव सभ्यता, राजनीतिक, शैक्षिक, आर्थिक, अवस्था कस्तो हुन्छ भन्ने वैचारिक उठान नै नाटकको उद्गम बिन्दु हो । एउटा किसानले देखाएको माटोसँगको प्रेमको उपज हो ‘चे इज ब्याक ।’ 

देशले धेरै क्रान्ति  भोग्यो, सह्यो तर सफलताको अनुभूति गर्न कहिल्यै पाएन । देशले बलि मागेको थिएन तर हामीले रगतको खोलो बगायौँ । हाम्रो क्रान्ति  सफल भयो त ? हामी जेका लागि लडेका थियौँ, जसका लागि लडेका थियौँ, त्यो साँच्चिकै पायौँ त ? हामी कुन समाजमा हुर्किरहेका छौँ ? हाम्रो बुझाइ कत्तिको छ ? पहिला विचारको बहस गर्न सिकौँ ।

‘चे’ मतलब ‘चे ग्वाभारा’; जसको नाम र व्यक्तित्वले आज पनि युवालाई आकर्षित गर्छ । लामो कपाल, दारी र जुँगा अनि टाउकोमा छड्के टोपी, खल्ती नै खल्ती भएको ज्याकेट र पाइन्टहरू अनि कालो बुट (जुत्ता) यति मात्र उनको पहिचान थिएन, उनी एक व्रmान्तिकारी नेता थिए, जसले पार्टीको झन्डा बोकेनन्, हरेक राष्ट्र स्वतन्त्र हुनु पर्छ र त्यहाँका जनताले स्वतन्त्रता पाउनु पर्छ भन्ने कुरामा अडिग रहे । उनको यो व्रmान्तिले सफलता पनि हात पा¥यो तर उनले निराशाजनक मृत्यु भोगे । उनकोे निधन अझै पनि रहस्यमयी छ । 

नाटकका मुख्य पात्र सुरथ रिजाल (रितेश कार्की) पेसाले पत्रकार हुनुहुन्छ । उहाँ दुईवटा जीवन जिउनुहुन्छ, व्यक्तिगत र व्यावसायिक । उहाँको व्यावसायिक जिन्दगी बडो रमाइलो छ । उहाँ सबैलाई नैतिकताको पाठ सिकाउँदै हिँड्नुहुन्छ । व्रmान्तिको गीत गाउनुहुन्छ । व्रmान्ति नबुझ्नेलाई झगडालु पारामा आफ्नो व्यवहार देखाउनुहुन्छ । उहाँ सनसनीपूर्ण समाचार लेख्न सिपालु हुनुहुन्छ । नेताले बोलेको भाषणलाई कडा शब्दमा लेख्न उहाँ कति पनि हिच्किचाउनु हुन्न । उहाँको समाचार लेखाइकै कारण उहाँ मिडिया साहुको प्रिय पात्र बन्नुभएको छ । 

यता उहाँको व्यक्तिगत जीवन पनि त्यस्तै उदेकलाग्दो छ । उहाँ एउटा नेवार साहुको घरमा भाडामा बस्नुहुन्छ र त्यही साहुकी छोरी निशा तण्डुकार (निशा दाहाल) सँग प्रेममा पर्नुहुन्छ । नेवार साहुबाट समेत उहाँ धेरै नै पीडित हुनुहुन्छ । सुरथलाई प्रेमिकाले बारम्बार विदेश जान उकास्छिन् तर उहाँले खासै चासो दिनुहुन्न । आफ्नो प्रेमीलाई हरेक वाक्यमा “मेरो कारण जिउँदो छस्” भन्ने खालको ताना दिने गर्छिन् । सुरथ सबैतिरबाट प्रताडित हुन्छ । यता काम गरेको पत्रिकाले पैसा दिएको छैन । जसले बिरामी हुँदा उपचार गर्न पाएको छैन । जे कुरामा पनि प्रेमिकाको भर पर्नु पर्छ । नेपालमा पत्रकारले भोगेका दुःख र कष्टहरू सुरथसँग बिल्कुलै मेल खान्छ ।

नाटकमा निर्देशक कुन्दनले हातहतियारको खासै प्रयोग गर्नुभएको छैन । बरु राष्ट्रप्रेम भने झल्काउन खोज्नुभएको छ । नाटकमा चे लाई आममानिसका रूपमा प्रस्तुत गर्न खोजिएको छ । नाटकको सेट डिजाइनदेखि त्यसमा प्रयोग भएका प्रप्सहरूको प्रयोगले नाटकमा केही नयाँ कुरा भएको अनुभूति गराउँछ । नाटकमा कलाकारहरूको प्रस्तुतीकरण गजबको छ । नाटक सकिएपछि दर्शकलाई अवश्य नै एउटा राम्रो सन्देश प्रवाह गर्छ । सुरथको भूमिकामा देखिनुभएका रितेश कार्कीको अभिनयमा खोट लगाउने ठाउँ छैन । यस्तै सुरथको प्रेमिकाका रूपमा निशा दाहालको अभिनय उम्दा छ । अन्य कलाकारहरू अरुण पौडेल, जयराम ढकाल, शिशिर गिरी, प्रविन खरेल, मोनाली डङ्गोल, अरविन्दकुमार मौर्य, रौनक कार्कीले पनि नाटकमा आफ्नो अभिनयमा न्याय गर्नुभएको छ । 

प्रायः जीवन दुई छाकको सङ्घर्षमा टुङ्गिन्छ । यही दुई छाकको सङ्घर्षको परिणाम आज हामी सबैको आमसङ्घर्ष र बाध्यता हुन पुगेको छ । देशको राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर तयार पारिएको यस नाटकलाई सुलक्षण भारतीले बिल्कुलै भिन्न तरिकाबाट लेख्नुभएर दर्शकलाई नयाँ स्वाद पस्कन खोज्नुभएको छ ।