• २७ पुस २०८१, शनिबार

सहमति र स्थायित्वमा नेतृत्व गरिरहेका छौँ : मुख्यमन्त्री शाह

blog

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना १०० दिनका उपलव्धी बारे जानकारी दिँदै । तस्बिर: प्रकाशविक्रम शाह

प्रकाशविक्रम शाह

धनगढी, जेठ ५ गते । सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना एक सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । गत माघ २७ मा पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएका मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना उपलब्धिबारे जानकारी दिनु भएको हो ।

उहाँले राजनीतिक सहमति र स्थायित्वको लागि नेतृत्व गर्दै वर्तमान सरकारले काम गरिरहेको दाबी गर्नुभयो । उपलब्धि विवरणमा भौतिक पूर्वाधार विकासमा बढोत्तरी, वार्षिक विकास कार्यक्रम पहिचान छनोट र प्राथमिकीकरणमा अनुशासित र जबाफदेही प्रणाली स्थापनाको सुरुवात र वार्षिक बजेट तर्जुमामा स्थानीय तहसँगको उच्चतम समन्वय र सहकार्य संस्कृतिको बीजारोपण भएको उल्लेख गरिएको छ । 

सरकारले धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धन र पर्यटन पूर्वाधार निर्माण, विपद् जोखिम न्यूनीकरणमा सहकार्य र शिक्षा र स्वास्थ्य क्षेत्रको समग्र सुधारको पहल सुरु गरेको पनि सो विवरणमा उल्लेख छ । 

यस्तै, गरेर एक सय दिनको अवधिमा प्रदेश सरकारले सदाचार नीति र भ्रष्टाचार नियन्त्रण कार्ययोजना तर्जुमा गरिएको, मागमा आधारित अनुशासित बजेट तर्जुमा प्रक्रियाको सुरुवात भएको सङ्घ र स्थानीय तहसँग समन्वय एवं विकास साझेदारसँग परामर्श  गरेको पनि उपलब्धि विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री शाहले प्रस्तुत गरेको उपलब्धि विवरणमा पूर्वाधारतर्फ २२ किलोमिटर पक्की र ७५ किलोमिटर ग्राभेल सडक निर्माण भएको र खानेपानीका ३३ वटा आयोजनाबाट चार हजार ५३८ जना लाभान्वित भएको उल्लेख छ ।

यस्तै, गरेर यो अवधिमा तीनवटा सडक पुल र एक झोलुङ्गेपुलको काम पूरा भएको पनि जनाइएको छ । सरकारले पहिलो चौमासिकमा रहेको १४ प्रतिशतको न्यून प्रगति दरलाई बढाएर ३३ प्रतिशतमा पु¥याइएको, थप एक हजार २२६ हेक्टरमा सिँचाइ सुविधा पुगेको, १५० लाख किलोग्राम खोटो र पाँच लाख किलोग्राम जडीबुटी सङ्कलन हुँदा प्रदेशभर ४५ हजार बिरुवा रोपिएको समेत प्रगति विवरणमा उल्लेख छ । 

मुख्यमन्त्री शाहले सो अवसरमा बोल्दै भन्नुभयो, 'प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजना र जिल्लाहरूको स्थलगत अवलोकन र अनुगमन गरेर समस्या पहिचान र भावी कार्यदिशा निर्धारण गर्ने काम भएको, सरकारले प्रदेशको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न गरेको, खप्तड, रामारोशन पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि विशेष पहल हुनुलाई सरकारको उपलब्धि हो ।' 

प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको तयारी पूरा हुनुलाई पनि सरकारले उपलब्धि मानेको उहाँले बताउनुभयो । उहाँले प्रदेशमा रहेका राष्ट्रिय गौरव र प्रादेशिक गौरवका आयोजना कार्यान्वयनमा तीव्रता दिन समन्वय गरिएको पनि बताउनुभयो ।