• १४ वैशाख २०८१, शुक्रबार

वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

blog

अर्जुनचौपारी –१ का ९६ वर्षका वेदप्रसाद अर्याललाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारी बिरामी पुर्जा दिनुहुँदै ।

अर्जुन काफ्ले

स्याङ्जा, जेठ ५ गते । अर्जुनचौपारी गाउँपालिकाले वृहत् निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि वितरण गरिएको थियो । 

शिविरमा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले स्थानीय रूपमा उत्पादन हुने जडीबुटीको संरक्षण गरी आफ्ना पालिकावासीको स्वास्थ्य, आयआर्जनमा जोड दिने बताउनुभयो ।

स्वास्थ्य रक्षाको निम्ति घरघरमा पुगेर स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको र सोही बमोजिम गाउँपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो । अर्जुनचौपारी – १ निवासी का ९६ वर्षका वेदप्रसाद अर्याललाई बिरामी पुर्जा र डा. उत्सव पाैडेलको ‘बीपी सेट’ हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो ।

शिविरमा स्वास्थ्य केन्द्रका प्रमुख वरिष्ठ कविराज निरीक्षक देवेन्द्र आचार्य, डा. उत्सव पौडेल, डा. तुलसी श्रेष्ठ र डा. समीक्षा लामिछानेसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण र औषधि वितरण गरेको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख ललित थापाले जानकारी दिनुभयो । 

शिविरमा पेट, छाती, बाथ तथा अमलपित्त र स्त्री रोग सम्बन्धी बिरामीको सङ्ख्या बढिरहेको थापाले बताउनुभयो । 

उपचार गर्दै वृद्ध अर्यालले पालिकाबाट पाउने आयुर्वेद औषधिले फाइदा पुगेको र डाक्टरसहितको सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

एक दिने शिविरमा पुरुष भन्दा महिला बढी र बृद्धबृद्धा पनि लाइनमा बसेर सेवा लिएका थिए । 

पालिकामा दुई वटा आयुर्वेद औषधालय भए पनि नौ स्थानबाट घुम्ती शिविरको रूपमा साप्ताहिक रूपमा टोल टोलमा पुगेर सेवा उपलब्ध गराइँदै आएको छ । 

स्याङ्जामा एक जिल्ला आयुर्वेद, सात वटा आयुर्वेद औषधालय र चार वटा आरोग्य केन्द्र छन् ।