• १३ मंसिर २०८१, बिहिबार

सकारात्मक सोच राखेर काम गर्न कांग्रेस नेता लामाको आग्रह

blog

पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस प्रतियाेगिताकाे उद्घाटन हुँदै ।

बाबुराम शर्मा 

दोलखा, जेठ ५ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ । 

शुक्रबार सदरमुकाम चरिकोटमा आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा सुरु भएको पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस प्रतियाेगितालाई सम्बोधन गर्दै उहाँले सकारात्मक सोचको कामले मानिसलाई जीवनपर्यन्त सफल बनाउने बत्ताउनुभयो। 

स्व. तामाङलाई इङ्गित गरी इमान्दारिताका साथ अनुशासित भई खेल खेलेर असफलता नै सफलता हो भन्ने उक्तिलाई सार्थक बनाउन खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो । 

यसैबीच, नेपाल च्याम्पियन रुपेश जैसवाल र सुजना लोहनीलाई सम्मानित गरिएको थियो । ९ गतेसम्म सञ्चालन हुने यो खेलमा अमेरिका, फ्रान्स, श्रीलङ्का, भारत, बङ्गलादेश र नेपाललगायत एक हजार ७० जनाले भाग लिएका छन् । 

दोलखा चेस होम नेपालका अध्यक्ष गोविन्द श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्यद्वय कुन्दनराज काफ्ले, भरतबहादुर केसी, नेपाली कांग्रेस पार्टी सभापति बर्मा लामा, भीमेश्वर नगरपालिका नगरप्रमुख ईश्वरनारायण मानन्धर, मेलुङ गाउँपालिका अध्यक्ष हीरा थोकर, राप्रपा नेपालका अध्यक्ष नवराज श्रेष्ठलगायतले स्व. तामाङले दोलखाको मात्र होइन नेपालकै शिर उच्च राखेको प्रशंसासहितको मन्तव्य राख्नु भएको थियो ।