• २७ पुस २०८१, शनिबार

खेलकुदलाई रोजाइको मन्त्रालय बनाउने प्रयास गर्नेछु : मन्त्री लिम्बु

blog

सम्मानित भएपछि खेलाडीहरु । तस्बिर सौजन्य : राखेप

काठमाडौं, जेठ ४ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सधैँ जसो हेपिएको रूपमा लिइने युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो कार्यकालमा सबै पार्टी र नेताको रोजाइको मन्त्रालय बनाएर जाने बताउनुभएको छ ।

‘‘खेलकुद भन्नासाथ कम बजेट र सबैले छाडेको मन्त्रालय भन्ने पाएँ । तर युवा र खेलकुदको विषयलाई बुझ्न यो उचित मन्त्रालय हो । राष्ट्रको इज्जत र प्रतिष्ठा गाँसिएको यस मन्त्रालयलाई सबैको रोजाइमा पार्न सबै मिलेर काम गरौँ । म पनि अधिकतम समय दिएर काम गर्नेछु,’’ नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशले बिहीबार आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा मन्त्री लिम्बुले भन्नुभयो ।

उहाँले सरोकारवालाको सल्लाह र सुझाव लिएर खेलकुदलाई माथि उठाउन सक्दो र इमानदार प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, बागमती प्रदेशले एएसबीसी एसियाली यू–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको हो ।


जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई, ७५ केजीमा त्रिशा जबेगु र पुरुष ८६ केजीमा विजय बाटाले कांस्य पदक जित्नुभएको थियो । सङ्घले रजत विजेता सुष्मालाई २० हजार रुपियाँ पुरस्कारबाट सम्मान गरेको हो । 

सुष्माले जितेको रजत पदक नेपाली बक्सिङको इतिहासमा कुनैपनि नेपाली खेलाडीले एसियाली स्तरमा जितेको सबै भन्दा ठुलो पदक हो । बाँकी कांस्य विजेतालाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । यस्तै प्रतियोगितामा सहभागी 

प्रशिक्षकद्वय दीपक महर्जन र सन्दीप श्रेष्ठलाई जनही पाँच हजार र व्यवस्थापक ओमनारायण श्रेष्ठलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । उक्त प्रतियोगितामा सहभागी लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारलाई पनि प्रशंसा पत्रबाट सम्मान गरियो । सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी उत्पादनमा योगदान गरेबापत प्रशिक्षक राजकृष्ण महर्जन र नवीन तुण्डकारलाई पनि सम्मान गरिएको थियो । 


खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, बागमती प्रदेशकी सांसद् मिना पराजुली, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य राधा घले, नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङलगायतले सम्मान गर्नुभयो ।