• १६ चैत २०८०, शुक्रबार

सार्वजनिक सवारीको आजबाट नयाँ भाडादर कायम

blog

काठमाडौं, जेठ ४ गते । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले अन्तर प्रदेशमा चल्ने सवारीको भाडादर घटाएको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपियाँ घटेसँगै सरकारले  भाडादर पनि घटाएको हो । 

डिजेल र मट्टितेलको मूल्य १६५ रुपियाँबाट १५५ रुपियाँ प्रतिलिटरमा झरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार स्वचालित मूल्य प्रणालीको आधारमा नै सार्वजनिक यातायातको भाडादर घटेको हो । 

उहाँले भन्नुभयो, “सार्वजनिक सवारीको भाडा स्वचालित मूल्य प्रणालीमा आधारित छ । त्यस कारण पेट्रोलियम पदार्थको मूल्य  पाँच प्रतिशत घट्ने वा बढ्ने हुँदा भाडादर पनि त्यहीअनुसार घट्ने वा बढ्ने हुन्छ ।” उहाँका अनुसार यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।

अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र अन्तर पालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने भएकाले प्रदेशभित्र सञ्चालित हुने यातायातका सन्दर्भमा विभागले कुनै निर्णय नगरेको उहाँको भनाइ छ  ।

बागमती प्रदेशले नयाँ भाडा दर आज सार्वजनिक गर्ने 

सार्वजनिक यातायातको घटेको भाडा आजदेखि लागु हुने यातायात व्यवस्था विभागले जनाए पनि काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनले भने छुट दिएका छैनन् । प्रदेश सरकारले भाडादर घटेको सूचना जारी नगर्दा प्रदेशभित्र सञ्चालन भएका कुनै पनि यातायातका साधनले भाडा घटाएका छैनन् ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका उपसचिव सङ्कर राज पाठकले भाडा दर घटाउने विषयमा मन्त्रालयमा गृहकार्य चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात व्यवस्था विभागले घटाएको मूल्यका आधारमा नै प्रदेश भित्र सञ्चालन हुने यातायातको भाडा घटाउनका लागि अहिले गृहकार्य चलिरहेको छ । भोलिसम्म सार्वजनिक गछौँ ।” 

यस्तै अन्य छ वटा प्रदेशहरूले पनि आफ्नो प्रदेशभित्र सञ्चालन हुने यातायात साधनको भाडादर घटाउने तयारी गरिहरेका छन् । गत वर्षको असार २७ मा डिजेलको मूल्य १७२ रुपियाँ प्रतिलिटर हुँदा भाडादरमा स्वचालित मूल्य प्रणाली लागु गरिएको थियो । जस अनुसार पेट्रोलियम पदार्थको मूल्य पाँच प्रतिशत तलमाथि हुँदा भाडा दर घटने वा बढ्ने व्यवस्था छ । 

जस अनुसार अहिले डिजेलको मूल्य  १५५ रुपियाँ प्रतिलिटर पुग्दा भाडादर ३.२० प्रतिशतले घटेको हो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।