• १२ पुस २०८१, शुक्रबार

एक सातादेखि विद्यालयको पठनपाठन ठप्प

blog

तलबभत्ताको माग गर्दै धर्नामा बसेका शिक्षक तथा कर्मचारी । तस्विर : विजयकुमार साह, ढल्केवर

विजयकुमार साह 

ढल्केवर, वैशाख ३१ गते । धनुषाको बटेश्वर गाउँपालिका–४, मा रहेको शिवशक्ति नमूना माध्यमिक विद्यालयको पठनपाठन एक सातादेखि ठप्प छ । विद्यालयका नमूना अनुदान तथा निजी स्रोतका शिक्षक तलबभत्ताको माग गर्दै अनिश्चितकालीन धर्नामा बसेपछि विद्यालयको सम्पूर्ण पठनपाठन अवरुद्ध भएको हो । 

विद्यालयका १९ जना शिक्षक तथा कर्मचारी वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् । २०७८ साउन महिनादेखि तलबभत्ता नपाएको उहाँहरुको भनाइ छ। 

धर्नामा बसेका एक शिक्षक राजकिशोर महराका अनुसार तलवभत्ताका लागि पटक–पटक मौखिक, लिखित जानकारी गराउँदा पनि विद्यालय प्रशासनले तलबभत्ता दिन बेवास्ता गरेपछि बाध्य भएर धर्नामा बस्नु परेको बताउनुभयो । तलबभत्ता नपाउँदा साधारण जीवन यापनमा आर्थिक सङ्कट भएको बताउँदै उहाँले तलवभत्ता नपाएसम्म धर्ना कार्यक्रम जारी राख्ने जानकारी दिनुभयो । 

लामो समयदेखि शिक्षक तथा कर्मचारी धर्नामा बसेको भएपनि समस्या समाधानको प्रयास कतैबाट भएको छैन । विद्यालयका प्रधानाध्यापक प्रमोदशरण केवटका अनुसार धर्नामा बसेका शिक्षकले तलबभत्ता पाएपछि मात्र धर्ना स्थगित गर्ने अडानमा बसेकाले समस्याको निकास निस्कन नसकेको हो । नमूना अनुदानका शिक्षकलाई तलबभत्ता दिन गाउँपालिकाले रकम रोकेको र निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयसँग तत्काल पैसा नभएको उहाँले बताउनुभयो । 

बटेश्वर गाउँपालिका शिक्षा शाखाका प्रमुख रामलाल महतोले विद्यालयको निजी श्रोत र नमूना अनुदानका शिक्षक तथा कर्मचारीलाई नियमले गाउँपालिकाबाट तलबभत्ता उपलब्ध गराउन नसकिने बताउनुभयो । निजी स्रोतका शिक्षकलाई विद्यालयको आन्तरिक आम्दानीबाट तलब दिनुपर्ने बताउँदै उहाँले विद्यालयमा देखिएका शिक्षक र प्रधानाध्यापकबीचको विवाद मिलाउन सहजीकरण भूमिका निर्वाह गरिरहेको जानकारी दिनुभयो । 

यता, विद्यालयका शिक्षक तथा कर्मचारी तलबभत्ताको माग गर्दै धर्नामा बसेपछि विद्यार्थी पनि आन्दोलित भएका छन् । विद्यार्थी भने नियमित कक्षा सञ्चालनको माग गर्दै आन्दोलन आन्दोलित भएका हुन् । 

पठनपाठन नियमित हुनुपर्ने माग गर्दै विद्यार्थीले बिहीबारदेखि विद्यालय प्रशासनविरुद्ध दिनहुँ नाराबाजी गर्दै आएका छन् । विद्यार्थीले प्रधानाध्यापक र प्रशासन कक्षमा तालासमेत ताला लगाइदिएका छन् । प्रधानाध्यापक प्रमोदशरण केवटले नियमित पठनपाठन सञ्चालनमा तदारुकता नदेखाएको विद्यार्थीको भनाइ छ । पढाई ठप्प हुँदा अध्ययनमा असर परिरहेकोले तत्काल पठनपाठन सञ्चालन गर्नुपर्ने आफूहरुको माग रहेको विद्यार्थी उमाकुमारी महतोले बताउनुभयो । शिक्षक धर्नादेखि हाम्रो कुनै सरोकार नरहेको प्रस्टयाउँदै उहाँले विगत एक महिनादेखि राम्ररी पढाई नभएको जानकारी दिनुभयो । 

विद्यालयमा जम्मा ४४ जना शिक्षक छन् । नौ जना नीजी स्रोत, १० जना नमूना अनुदान र बाँकी दरबन्दीका शिक्षक छन् । प्राथमिक तहदेखि १२ कक्षासम्म पढाई हुने यस विद्यालयमा एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।