• १९ असोज २०८१, शनिबार

बयालिस किलोमिटर सडक कालोपत्रे

blog

फिदिम समाचारदाता

फिदिम, वैशाख ३१ गते । यो वर्ष पाँचथरमा ४२ किलोमिटर सडक कालोपत्रे गरिएको छ। फिदिम नाङ्गिन याङनाम सडकखण्डको ३५ र फिदिम रानिटार गोरुवाले सन्दकपुरको सात किलोमिटर सडक कालोपत्रे गरिएको हो।

दुवै सडक प्रदेश सरकारको लगानीमा कालोपत्रे गरिएका हुन। कालोपत्रे व्यवस्थापनका लागि पूर्वाधार विकास कार्यालय पाँचथरमार्फत प्रदेश सरकारले २६ करोड ४५ लाख रुपियाँ लगानी गरेको थियो। जसमध्ये फिदिम, रानीटार गोरुवाले सडकको पहिलो खण्डमा पर्ने सात किलोमिटर कालोपत्रे गर्न चार करोड २० लाख रुपियाँ खर्च भएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ। यहाँ ‘आसफाल्ट कङ्व्रिmट’ प्रविधिबाट कालोपत्रे गरिएको कार्यालयका इन्जिनियर मुकेशराज साहले जानकारी दिनुभयो।

यस्तै सदरमुकाम फिदिमबाट नाङ्गिन, याङनाम सिदिन हुँदै सिक्किम र पश्चिम बङ्गालको सीमावर्ती फालौट जोड्ने फिदिम याङनाम फालौट मार्गको १० किलोमिटर सडक यसै वर्ष कालोपत्रे गरिएको छ। करिब ६० किलोमिटर लम्बाइ रहेको उक्त सडकको थप २५ किलोमिटर गत वर्ष  कालोपत्रे गरिएको थियो। कुल ६० करोड २७ लाख रुपियाँको लगानीमा निर्माण भइरहेको उक्त सडकको १० किलोमिटर कालोपत्रे गर्न प्रदेश सरकारले नौ करोड रुपियाँ खर्चेको छ। 

योबाहेक ६० करोड ९२ लाख रुपियाँ लागत रहेको फिदिमदेखि कुम्मायक गाउँपालिका केन्द्र यासोक जोड्ने सरखण्डे यासोक सडकखण्डको ११.३१ किलोमिटर क्षेत्रमा पनि कालोपत्रे गर्ने काम अगाडि बढेको छ। सदरमुकाम फिदिमदेखि सिवा दोभान लुम्फाबुङ हुँदै नवमीडाँडा जोड्ने १३.९५ किलोमिटर सडकखण्ड पनि कालोपत्रे गर्ने चरणमा रहेको कार्यालयले जनाएको छ। सो सडक निर्माण र कालोपत्रेका लागि प्रदेश सरकारले ७४ करोड ८८ लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। यी सबै सडक कालोपत्रेको काम यसै आर्थिक वर्षभित्र सक्ने लक्ष्य रहेको पनि इन्जिनियर साहको भनाइ छ।

यसअघि जिल्लामा मेची राजमार्गको राँकेदेखि काबेलीसम्म, मध्यपहाडी लोकमार्गको तमोर खोलादेखि जोरसाल, सोही लोकमार्गको गणेशचोकदेखि थर्पु र सामदिन सिवा नवमीडाँडा सडकखण्ड कालोपत्रे गरिएको थियो।