• १२ वैशाख २०८१, बुधबार

मैवाखोलाद्वारा आलुको मूल्य निर्धारण

blog

मैवाखोला गाउँपालिकाका किसानले उत्पादन गरेको आलु । तस्बिर: चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आलुको मूल्य निर्धारण गरेको छ । बिक्री वितरण तथा बजारीकरणमा सहजता ल्याउने उद्देश्य राखेर गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको आलुको न्युनतम मूल्य निर्धारण गरेको हो ।

मैवाखोला गाउँपालिकाको अनुदान सहयोगमा सञ्चालित आलु पकेट क्षेत्रमा उत्पादन भएको आलुको न्युनतम् बिक्री मूल्य निर्धारण गरिएको हो । सम्बन्धित आलु पकेट क्षेत्र सञ्चालक समितिसँगको समन्वयमा मूल्य निर्धारण गरिएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।

अध्यक्ष वनेमले आलुको गुणस्तरअनुसार दुई खालको मूल्य निर्धारण गरिएको बताउनुभयो । उहाँकाअनुसार गुणस्तरीय अर्थात ‘ए’ ग्रेडको प्रतिकिलोग्राम ४० रुपियाँ र ‘बी’ ग्रेडको आलुको मूल्य प्रतिकिलोग्राम ३५ रुपियाँ निर्धारण गरिएको छ । 

गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र राईका अनुसार चालू आर्थिक वर्ष २०७९÷८० मा गाउँपालिकाको अनुदान सहयोगमा वडा १ ढुङ्गेसाँघु, वडा ३ र ४ साँघुमा पकेट क्षेत्र सञ्चालन गरी आलु खेती लगाइएको थियो । सो पकेट क्षेत्रअन्तर्गत किसानले गरेको आलू खेतीबाट उत्पादन पनि राम्रै भएको कृषि शाखा प्रमुख राईले जानकारी दिनुभयो ।