• २२ असार २०८१, शनिबार

स्वावलम्बनद्वारा विद्यार्थीलाई पोशाक वितरण

blog

बाल प्राथमिक विद्यालयका विद्यार्थीहरु विद्यालय पोशाक पाएपछि सामूहिक तस्बिरमा ।

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख २९ गते । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ मा रहेको बाल प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । स्वावलम्बन वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा रहेका ८५ जना बालबालिकाहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक प्रकाश पाण्डेले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताउनुभयो ।

वित्तीय संस्थाका तुलसीपुर शाखा प्रमुख उमेशकुमार भण्डारीले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा पोशाक वितरण गरिएको बताउनुभयो । 

नगरप्रमुख टीकाराम खड्काले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सूचना प्रविधि सामग्री हस्तान्तरण, प्रशिक्षण, अक्षर सुधार, दरबन्दी व्यवस्थापनमा विशेष ध्यान दिइरहेको अवस्थामा बालबालिकाहरुका लागि पोशाक, झोला, कापी कलम वितरण गरिनु सकारात्मक कार्य भएको बताउनुभयो ।

उहाँले विपन्न समुदायमै विद्यालय पोशाक हस्तान्तरण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।