• १३ असोज २०८१, आइतबार

लुम्बिनी प्रदेशमा शुक्रबारभित्रै सरकारले पूर्णता पाउँछ : प्रवक्ता पाण्डे

blog

लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डे सम्बाेधन गर्नुहुँदै ।

छविलाल पाण्डे । 

बुटवल, वैशाख २६ गते । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री तथा प्रवक्ता सन्तोष पाण्डेले यही शुक्रबारभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउने बताउनुभएको छ । प्रवक्ता पाण्डेले जनताले अनुभूति गर्ने गरी काम गर्ने टिम सहितको लुम्बिनी प्रदेश सरकार विस्तारका लागि आन्तरिकरुपमा छलफल भइरहेको बत्ताउनुभएको हो ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले कानुन दिवसको अवसरमा मंगलबार आयोजना गरेको कानुन र सुशासन  विषयक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले दिगो विकासको अवधारणासहित सरकार अघि बढ्ने जिकिर गर्दै सङ्घीयतालाई पूर्णरुपमा कार्यान्वयन गर्न प्रदेश सरकारलाई पूर्ण अधिकार दिनुपर्नेमा जोड दिनुभयो  । 

मन्त्री पाण्डेले आम नागरिकले सुशासनको अनुभूति पाउने गरी मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार लाग्ने दाबी समेत गर्नुभयो । 

त्यसैगरी, कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले नेकपा एमाले कानुनी राज्यको पूर्ण पालना र सुशासनको पक्षमा रहेको जिकिर गर्दै भ्रष्टाचारीलाई संरक्षण गरेर नबस्ने बताउनुभयो । 

उहाँले प्रदेश सरकारले कानुनको अभावका कारण सोचेअनुसारको गति लिन नसकेको बताउँदै अधुरा ऐन र कानुन निर्माणमा एमालेले सहयोग गर्ने जानकारी उल्लेख गर्नुभयो । 

चौधरीले नेकपा एमालेले भागबण्डाको राजनीति स्वीकार नगर्ने भन्दै आर्थिक सङ्कटको अवस्थामा प्रदेश सरकारलाई मन्त्रालय नथप्न सुझाव दिनुभयो ।