रेखीराम राना
पाल्पा, वैशाख २६ गते । जिल्लाको विभिन्न स्थानमा जनप्रतिनिधि तथा निर्माण व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको चोरी निकासी भएको छ । जिल्लाको रामपुर, तिनाउ, रिव्दीकोट तथा बगनासकाली गाउँपालिकाको विभिन्न स्थानबाट नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवाको चोरी भएको हो ।
बगनासकाली गाउँपालिकाको वडा नं. ६ यम्घास्थित मचेटाघाटमा अवैध नदीजन्य पदार्थ चोरी निकासी भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । जनप्रतिनिधिकै मिलेमतोमा ढुङ्गा र बालुवा चोरिएको दाबी स्थानीय बासिन्दा शिव अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो , ‘वडा अध्यक्षलगायतका जनप्रतिनिधिकै मिलेमतोमा बालुवा, ढुङ्गा चोरी गर्ने काम भइरहेको छ ।’
अवैध रूपमा चोरी निकासी बढेपछि गाउँपालिकाले अनुगमन तीव्र बनाएको पालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । कालीगण्डकीको घाटक्षेत्रबाट जनप्रतिनिधिकै मिलेमतोमा अवैध रूपमा नदी जन्य प्रर्दाथको चोरी निकासी भएको गुनासोका आधारमा अनुगमन गरेर समन्वय समितिलाई प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो ।
बगनासकालीमा कालीगण्डकी नदी क्षेत्रबाट बालुवा र गिट्टी चोरी भएको छ भने नदी नजिकै रहेको जङ्गलबाट ढुङ्गा चोरी भएको जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशवराज खरालले बताउनुभयो । नदीजन्य पदार्थ चोरी गरेर योजनाको काममा प्रयोग गरेको पाइएको खरालले बताउनुभयो ।
बगनासकाली–६, का वडाका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले भने नदीजन्य पदार्थ चोरी कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताउनुभयो । यम्घामा स्थानीय र प्रदेश सरकारबाट विभिन्न योजना सञ्चालन भए पनि नदीजन्य पदार्थ चोरी गर्न आफूले सघाएको भन्ने कुरा झुटो रहेको उहाँले बताउनुभयो ।
रामपुरको विभिन्न क्षेत्रबाट नदीजन्य पदार्थ चोरी निकासी रोकिएको छैन । रामपुर नजिकै रहेको कालीगण्डकीका विभिन्न घाट तथा किनारबाट नदीजन्य पदार्थ चोरी भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । नदीजन्य पदार्थ रातको समयमा चोरी निकासी भइरहेको र त्यसमा रामपुर नगरपालिकाले कुनै पहल गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
तिनाउ गाउँपालिकाको राजमार्ग क्षेत्रबाट समेत ढुङ्गा चोरी निकासी भइरहेको छ । सिद्धार्थ राजमार्ग स्तरोन्नति गर्न सञ्चालित योजना तथा निर्माणको काममा राजमार्ग नजिकैबाट ढुङ्गा चोरी गर्ने काम भइरहेको स्थानीय बासिन्दा कृष्ण पाण्डेयले बताउनुभयो । सिद्धार्थ राजमार्ग निर्माणको नाममा लाखौँ रुपियाँको ढुङ्गा चोरी निकासी भए पनि तिनाउ गाउँपालिकाले चोरी नियन्त्रण गर्न पहल नगरेको उहाँले बताउनुभयो ।