अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २६ गते । वर्षायामको सुरु हुनै लाग्दा पुतलीबजार नगरपालिका वडा न. १ र ३ का स्थानीयले अरौदी खोलामा पुल निर्माणको माग गरेका छन् ।
ठूला पुल निर्माण कार्य झन्झटिलो भएकाले तत्कालका लागि ट्रष्ट एवम् बेलीब्रीज बनाएर स्थानीयलाई वारपार गर्न सहज बनाउन माग गरेका हुन् ।
वर्षाको समयमा खोला बढेर वारपार गर्न समस्या हुने बताउँदै स्थानीय कमल अर्यालले हिउँदमा सामान्य देखिने खोला वर्षातमा बढेर ठुलो हुने बताउनुभयो ।
विगतदेखि नै प्रदेश, स्थानीय पालिका र वडामा यहाँका समस्या र आवश्यकताका बारेमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको अर्यालको भनाइ थियो ।
पुतलीबजार नगरपालिका ३ बाडखोला बजार व्यापारिक केन्द्र हो भने बाडखोलादेखि जिल्ला सदरमुकाममा पुग्नका लागि यो बाटो निकै छोटो रहेको छ ।
वडा नं. १ र ३ बासीबीच अरौदीखोलाले सिमाना लगाएको छ भने यहाँ पुल नहुँदा छिमेकी घरमा पुग्न थप एक किलोमिटरको फन्काे मारेर हिँड्नुपर्ने बाध्यता रहेको छ ।
अधिकांश पैदलयात्री यही खोला तरेर वारपार गर्ने गर्दछन् भने विद्यार्थी, कार्यालयका कर्मचारी, कामदार, स्थानीयवासी गरी दैनिक पाँच सय जनाले यही खोलाको बाटो उपयोग गर्ने गरेका छन् ।
यहाँ पुल बनेमा सदरमुकाममा रहेका सरकारी कार्यालय, सरकारी एवं निजीका झण्डै आधा दर्जन विद्यालय, क्याम्पसका विद्यार्थी र पैदलयात्रुका लागि आधा बाटो छोटिने अर्यालको भनाइ थियो ।
अरौदीखोलाले बिस २०५५ साल भदौमा वीरेन्द्रनगर बजार सहित ५५ जनाको मृत्यु भएको थियो भने करोडौँ मूल्य बराबरको क्षति पुर्याएको थियो ।