भवानी ऐर
गोदावरी (कैलाली), वैशाख २५ गते । सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री त्रिलोचन भट्टले नक्कली भुटानी शरणार्थी प्रकरणले सबै नेपालीलाई कलङ्कित तुल्याएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन ढिलो गर्नु नहुने बताउनुभएको छ । समसामयिक राजनीतिबारे गोरखापत्रसँगको कुराकानीमा पूर्वमुख्यमन्त्री भट्टले सोमबार सो कुरा बताउनुभएको हो ।
सुरक्षा सल्लाहकार र सचिव पक्रिँदासम्म तीव्र गतिमा देखिएको प्रहरी किन कमजोर भयो ? चासोको विषय भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकार पछि हट्नु नहुने बताउनुभयो । उहाँले भन्नुभयो “नक्कली शरणार्थीका प्रकरणमा कुनै कर्मचारी वा नेतालाई बचाउने कार्यमा लाग्न हुन्न, यस्ता अपराधीलाई निस्तेज तुल्याउनुपर्छ ।”
नेकपा (माओवादी केन्द्र)का नेतासमेत रहनुभएका पूर्वमुख्यमन्त्री भट्टले अगाडि भन्नुभयो– ‘अर्कोतर्फ सुशासन दिने र भ्रष्टाचार नियन्त्रणका चर्का कुरा गर्ने नयाँ पार्टीले नक्कली भुटानी शरणार्थी प्रकरण उठ्नासाथ सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारलाई दबाबमा राख्न खोजेको देखिन्छ ।’
तर, सरकारको नेतृत्व दबाब झेल्न सक्ने, स्वतन्त्र निर्णय लिनसक्ने क्षमता राख्ने भएकाले आम नागरिक चासोका साथ हेरिरहेको उहाँको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रथम मुख्यमन्त्री भट्टले पहिलो कार्यकालको सरकारले ल्याएको चालु आर्थिक वर्षका कार्यक्रम तथा योजनाहरू कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेटबारे छलफल सुरु गर्नुपर्ने बेला पनि सुदूरपश्चिम सरकारले पूर्णता नपाएकोप्रति दुःख व्यक्त गर्दै सत्ता साझेदार सबै पार्टी जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
उहाँले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर गेटा मेडिकल कलेज, सेती र महाकाली लोकमार्ग, पश्चिम सेती, दोधारा चाँदनीको सुख्खा बन्दगाह, औद्योगिक क्षेत्र निर्माणलगायतका योजनालाई राष्ट्रिय गौरवका योजनामा राखेर कार्यान्वयनमा गति दिन आग्रह गरेको र मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटी अघिल्लो सरकारले सुरु गरेका पञ्चवर्षीय योजनामा टेकेर प्रदेश गौरव र महत्त्व राख्ने योजना तथा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको बताउनुभयो ।
नयाँ संविधानको कार्यान्वयनसँगै प्रदेशसभा निर्वाचनबाट निर्माण भएका प्रदेश सरकारमा पूर्ण कार्यकाल सरकार चलाउन सफल मध्येका एक मुख्यमन्त्री भट्ट हाल धनगढीस्थित भाडामा कोठा लिएर बसिरहनुभएको छ ।